पोखरा, १३ मसिर l  पोखरा बहुमुखि क्याम्पसको ३१ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरिएको खुला रक्तदानमा ३८ यूनिट रगत संकलन भएको छ । लायन्स क्लव अफ पोखरा मेट्रोसिटी र क्याम्पसको सहकार्यमा खुला रक्तदान आयोजना गरिएको थियो ।

क्याम्पसका विद्यार्थी, शिक्षक, लायन्सका पदाधिकारी सहित सर्वसाधारणले रक्तदान गरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् । पोखरा बजारमा रहेको रगत अभावलाई थोरै भएपनि सहज होस भनेर खुला रक्तदान आयोजना गरेको उनले बताईन । क्याम्पसले वार्षिकोत्सवका अवसरमा वर्षेनी खुला रक्तदान कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

सामुदायिक क्याम्पस पोखरा बहुमुखिले वार्षिकोत्सवका अवसरमा यसअघि छात्रछात्रा भलिवल, फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । त्यसबाहेक निवन्ध र कविता बाचन कार्यक्रम पनि वार्षिकोत्सवका अवसरमा गरिएको थियो । खेलकुद र साहित्यिक गतिविधिमा उत्कृष्ट हुने विद्यार्थी र समुहलाई पुरस्कृत गरिने क्याम्पसले जनाएको छ । क्याम्पसमा स्नातकतहसम्म व्यवस्थापन र मानविकी संकायमा पढाई हुन्छ ।

LEAVE A REPLY