बैंकक, वैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंका र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणकाक्रममा शुक्रबार दिउँसो थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैंककमा अवतरण भएकी छन् ।
राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्यान्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोंगकाभेरोजले तथा थाइल्यान्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गरेका छन् ।

त्यसअघि, विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले उनलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको नोभोटेल होटल गएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाइ राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन् ।

गत वर्ष असोज २७ गते निधन भएका थाइ राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यहीँ प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा शुक्रबार साँझ थाइल्यान्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सन्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनेछिन् ।

@रासस

LEAVE A REPLY