काठमाण्डौं, १३ बैशाख l नेकपा एमालेले आगामि स्थानीय तहको निर्वाचनमा काठमाण्डुको मेयरको उम्मेदवारको रुपमा पाँच जनाको नाम सिफारिस गरेको छ ।  एमाले काठमाण्डु जिल्ला कमिटिले बुधबार सम्भावित पाँच जना उम्मेदवारको नाम प्रदेश समितिमा पठाएको हो ।

जिल्ला समितिले सिफरिस गरेकाहरुमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजाल रहेका छन् । यसअघि चर्चामा आएका पूर्वमेयर केशव स्थापित र गौरी प्रधान भने जिल्ला कमिटीको सिफारिसमा परेनन् ।

काठमाण्डु महानगरपालिककाको उम्मेदवारको सिफारिस र अन्तिम टुंगो लगाउने आधिकारिक निकाय स्थायी समिति भएको हुँदा जिल्लाले सिफारिस गरेका व्यक्ति उम्मेदवार नहुने पनि सक्ने छन् ।

मेयरमा सिफरिस गरिएका वयक्तिहरुमा जीवनराम श्रेष्ठ पार्टी केन्द्रीय सदस्य, विद्यासुन्दर शाक्य काठमाण्डु जिल्ला कमिटिका सचिव, विदुर मैनाली पूर्व उपमेयर, वसन्त मानन्धर अनेरास्ववियुका पूर्व महासचिव र कल्पना रिजाल काठमाण्डुकी महिला नेतृ हुन् ।

एमाले काठमाण्डु जिल्ला समितिमा लाइन संघर्ष तीव्र रहेको हुँदा पार्टीभन्दा बाहिरबाट उम्मेदवार ल्याउने भन्दै यसअघि पूर्वमेयर केशव स्थापित र अधिकारकर्मी गौरी प्रधानलाई उम्मेदवार बनाउने चर्चा थियो । तर पार्टीमा दुवै लाई मिलेर जाने लिखित सहमति भएपछि उम्मेदवारको सिफारिस गरिएको बताइएको छ ।

त्यस्तै उपमेयरमा सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने र श्याम भण्डारी सिफारिस भएका छन् ।

 

LEAVE A REPLY