काठमाडौं, कात्तिक २६ l गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका उम्मेदवारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएकोले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि थप सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।

पछिल्ला घटनाले थप सुरक्षा चुनौतीको संकेत गरेको भन्दै उहाँले सुरक्षा चुनौतीहरूको विश्लेषण गरी त्रुटीरहित र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउने जानकारी दिनुभयो । बैठकमा प्रमुखु निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पछिल्ला केही घटनाबाट सजग हुनुपर्ने भएपनि समग्र सुरक्षा कार्ययोजना राम्रो रहेकोले बताउनुभयो ।

उहाँले उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले थप सुरक्षितरूपमा प्रचार प्रसार गर्ने वातावरण बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । बैठकमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले सुरक्षा निकायहरूबीच चुस्त समन्वय गर्न तथा दुर्गम र हिमाली भेगमा सुरक्षा र यातायात तथा संचारको राम्रो व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY