काठमाडौं, चैत २९– सरकारले लागु भएको झण्डै दुई वर्षपछि फ्रि भिसा, फ्रि टिकट छानविन सुरु गरेको छ । वैदेशिक रोजगार विभागले म्यानपावरलाई पत्रचार गर्दै निर्णय लागु भएदेखि हालसम्म पठाएका कामदारको विवरण मागेको हो ।

वैसाख २ गते भित्रमा सबै म्यानपावरलाई पठाएका कामदारको विवरण बुझाउन भनेको छ । म्यानपावर कम्पनीसित विभागले कामदारको विवरणमा पूर्व स्वीकृति संख्या, अन्तिम स्वीकृतिको संख्या, देश, कम्पनी मागेको छ ।

यस्तै लागतका बारेमा शुन्य लागत, दश हजार सम्म तिरेको, हालसम्म प्राप्त रकम र रकम जम्मा गरेको बैंकको नाम सहित बुझाउन भनेको छ । रोजगारदाताबाट हवाई टिकट वापत रकम प्राप्त भएको भए प्राप्त रकम, बैंक तथा रेमिट्यान्सको नाम र टिकट प्राप्त भएको भए एयरलाइन्सको नाम र टिकट नम्बर मागेको छ ।

अव कारबाही हुन्छ   : महानिर्देशक पाण्डे

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले फ्रि भिसा फ्रि टिकट कार्यन्वयनका विषयमा अब कडा निर्णय लिने बेला आएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘सरकारले निर्णय गरेको झण्डै दुई वर्ष हुन लाग्यो कार्यन्वयनको अवस्था छानविन गरेर कारबाही गरिनेछ ।’

पहिले २२ गते भित्र बुझाउन भनिएपनि व्यवसायीको मागका आधारमा १० दिन म्याद थपिएको उहाँले बताउनुभयो । २ गते विवरण आएपछि छानविन थाल्ने उहाँको भनाई छ । ‘निर्णय गरेपछि पनि युवा ठगिने क्रम नरोकिएपछि छानविन थाल्न ‘वोल्ड डिसिजन’ गर्नु परेको हो’ उहाँले भन्नुभयो । महानिर्देशक पाण्डेका अनुसार हालसम्म १ सय २५ वटा म्यानपावरले विवरण बुझाएका छन् । विवरण आउनेक्रम जारी छ ।

सरकारसितै छ यो विवरण : अध्यक्ष ढकाल

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले अनावश्यक विवरण मागेको बताउनु भएको छ । ‘सरकारसित यी सबै विवरण छन्, फ्रि भिसा, फ्रि टिकट अनुगमन गर्नु पर्दैन, कार्यन्वयन भएकै छैन’ अध्यक्ष ढकालले भन्नुभयो ।

व्यवसायीसँग सल्लाह नै नगरि विवरण मागिएको प्रति असन्तुष्टि जनाउँदै यस विषयमा संघले छलफल गर्ने ढकालले बताउनुभयो । फ्रि भिसा, फ्रि टिकट कार्यन्वयनबारे अध्ययन गर्न कार्यदल बनेपनि कार्यदलले काम नगरि छानविन थाल्नु उचित नहुने ढकालको भनाई छ ।

उहाँले भन्नुभयो ‘सरकारले मागेपछि विवरण दिन वाध्य हुन्छौं, केहि साथीहरुले दिइसक्नु भएको छ, हामी पनि तयारी गर्दैछौं ।’

@Ujyaaloonline

LEAVE A REPLY