मङ्सिर ९ l आज इतिहासकै पहिलो पटक मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । यो पहिलो चरणको निर्वाचन हो , जुन ३२ जिल्लामा सम्पन्न गरिएको हो ।

उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साह पूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो । बेलुका ५ बजेसम्म ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

६ वटा प्रदेश भित्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यर्होनु पर्ने निश्चित छ । मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछिमात्रै हुने निर्वाचन आयोगले यसअघि नै जानकारी गराइसकेको हुनाले परिणाम पनि त्यसपछि नै आउनेछ ।

गत कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । कात्तिक ८ गते सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ति उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । जसमा १०० जनाको उम्मेदवारी फिर्ता भएको थियो भने एक जनाको उम्मेदवारी रद्द समेत भएको थियो ।

यसैबीच निर्वाचन सर्वेक्षण समिति नेपालले , निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको जनाएको छ।
यद्यपी  ती घटनाहरुका बीच पनि  निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको जनाएको छ ।

६५ प्रतिशत भन्दा बढी मत खस्यो

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार जिल्लाबाट आएको अहिलेसम्मको विवरण अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको हो।

बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत खसेको छ। रूकुमको आठबीसकोटस्थित राष्ट्रिय माध्यमिक विद्यालय केन्द्रमा प्रदेशतर्फको समानुपातिकको मतदान स्थगित भएको छ। त्यहाँ मतपेटिकामा एसिड खन्याएपछि प्रदेशको समानुपातिकको मतदान स्थगित भएको हो ।

त्यसैगरी रुकुमकै बाँफीकोटस्थित काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मतपेटिकामा आगजनी गरेपछि प्रतिनिधिसभा प्रत्यतर्फको मतदान स्थगित भएको छ । अर्कातिर उपल्लो डोल्पाका दुई वटा मतदान केन्द्र अझै सम्पर्कमा आउन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पहिलो चरणमा निर्वाचन भएका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटै निर्वाचन क्षेत्रमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ। मतपेटिकाहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाा निगरानीमा राखिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा नै सम्पन्न भएको छ। हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो।

LEAVE A REPLY