पोखरा १९ बैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार विहान १० बजेबाट सुरु भएर साँझ ५ बजे सकिएको हो ।

प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो स्थानीय तह निर्वाचन हुन लागेको हो । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

यो चुनावमा १३ हजार ५५६ पदका लागि चुनाव हुनेछ । जस अनुसार चार वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएका छन् ।

महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडाध्यक्षका लागि मनोनयन भएका छन् । साथै कुल २५९८ वडाका लागि चार सदस्यका दरल १०,३९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ ।

२५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी भएको छ । राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्षरउपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई उत्साहपूर्वक लिएका छन् ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।

LEAVE A REPLY