कैलाली, कात्तिक ८ l गएको २० दिनमा चार जना वेपत्ता भएपछि प्रहरीले सुरक्षाको दृष्टिकोणले कर्णाली नदीदेखि उत्तरको क्षेत्रमा पिकनिक जान रोक लगाएका छ ।

कर्णाली उत्तरको भेगमा असोज १५ गते दुई जना युवक र सोमबार मात्रै दुई जना बालबालिका नदीमा बेपत्ता भएपछि प्रहरीले त्यहाँ जान रोक लगाएको कैलालीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर त्यो क्षेत्रको कर्णाली किनारमा तारबार गर्नका लागि पनि प्रहरी चौकी चिसापानीलाई निर्देशन दिएको बताउनुभयो । प्रहरीले त्यस क्षेत्रको जोखिमका बारेमा चिसापानी बजारमा सन्देशमुलक होर्डिङ बोर्ड लगाउने पनि तयारी गरेको छ । सोमबार देउसी भैलो खेलेर पिकनिक गएका कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ का जगन्नाथ धमलाका छोरा १४ वर्षका चक्र धमला र सोही स्थानका राम प्रसाद धमलाकाकी १० वर्षकी छोरी शर्मिला धमला कर्णालीमा बेपत्ता भएका थिए ।

मंगलबार दिनभरी खोजी गरिए पनि उनीहरु फेला परेका छैनन । यसअघि असोज १५ गते मात्रै दुई जना युवक बेपत्ता भएका थिए । २० दिनमै घटना दोहोरिएपछि प्रहरीले त्यस क्षेत्रमा जान रोकेको हो । पितमारीको पिकनिक स्पट नजिकै कर्णाली नदीमा भुमरी जस्तो भंगालो भएकाले त्यहाँ पौडिन जानेहरु डुबी रहेका प्रहरीले जनाएको छ । -Ujyaaloonline.com

LEAVE A REPLY