पोखरा । पोखरा पुग्ने पर्यटक लेकसाइड नझर्ने कुरै भएन । लेकसाइडको खहरे चोकदेखि थोरै देब्रे मोडिएपछि देखिन्छ, डेभिल्स ट्याटु एन्ड बडी सस्पेन्सन । यहाँ भेटिन्छन् एक डरलाग्दा मानव । शरीरभरि ट्याटु मात्रै खोपेका छैनन्, शरीरको छाला छेडेर डोरीमा झुन्डिँदै साहस देखाउँछन् र अरूलाई पनि झुन्ड्याउँछन् । पर्यटकमाझ उनको यो साहस बिक्छ ।

उनको नाम हो भुवन थापा । लेकसाइड पुग्ने अधिकांशले चिन्छन् । डेभिल्स ट्याटु एन्ड बडी सस्पेन्सनले नै नजर तानिहाल्छ, जसका सञ्चालक भुवन नै हुन् । शरीरको छाला छेडेर हुक छिराई डोरीमार्फत झुन्डिने डरलाग्दो खेल हो, बडी सस्पेन्सन । त्यसैले त भुवनलाई ‘ह्यांगिङ म्यान’को संज्ञा दिन्छन् चिन्नेहरू । उनको साहसमा मुटु छाम्दै रमाइलो लिन्छन् पर्यटक ।

भुवन थापा नेपालकै एक्ला व्यक्ति हुन्, जसले छाला छेडेर साहसिक खेल पर्यटन व्यावसायिक रुपमै सुरु गरे, लेकसाइड पुग्ने कैयौँ विदेशी पर्यटक भुवनको साहस पछ्याउँदै रमाउँछन्

भुवन नेपालमा ह्यांगिङ पर्यटन सुरु गर्ने पहिलो व्यवसायी हुन् । अहिलेसम्म नेपालमा उनी एक्लै छन्, यो साहसिक खेलमा । ‘यो अति साहसिक पर्यटनमा पर्छ, त्यसैले सामान्य तरिकाले यो व्यवसाय सञ्चालन गर्न असम्भवजस्तै छ,’ भुवनले भने ।

डोरीमा कति समय झुन्डिने भन्ने आधारमा छाला छेड्ने गरिन्छ । शरीरको कुन ठाउँको छाला छेड्ने भन्ने कुराले प्रयोग गरिने हुकको साइज निर्धारण हुन्छ । ‘कुहिना र घुँडामा छेडेर झुन्डिने हो भने माछा मार्ने बल्छीजस्तो हुकमा डोरी बाँधिन्छ भने अन्य ठाउँमा छेड्दा तीनकुने हुक प्रयोग गरिन्छ,’ भुवनले खेलबारे सुनाए ।

डरलाग्दो खेलका लागि सुरुमा रहरमै लागेका भुवन अहिले अति साहसिक पर्यटन व्यवसायी भएका छन् । १५ वर्षपहिला मोहन्स ट्याटुबाट प्रभावित भुवनले अहिले ट्याटुसँगै ह्यांगिङ पनि सुरु गरे । ‘हामी ट्याटु व्यवसायीहरू अरूजस्तै शरीरमा चित्र बनाउने कलाकार हौँ, तर समयअनुसार अफूलाई परिवर्तन गर्नुपर्छ भनेर ह्यांगिङ पर्यटन सुरु गरेँ,’ भुवनले भने ।

शरीर छेडेर झुन्डिनुमा के मज्जा त ? प्रश्न खस्न नपाउँदै भुवन बोले, ‘सबैको सोच एकै हुँदैन, कोही यस्तै साहसमा आनन्द लिन्छन्, कोही पीडा अनुभव गर्न झुन्डिन्छन्, कोही रिस नियन्त्रणका लागि त, कोही स्ट्रेस म्यानेजमेन्टका लागि ।’ यसरी झुन्डिनका लागि शरीरमा बनाइएको घाउ एक हप्ताभित्र पूर्ण रूपमा निको हुने र फेरि उही ठाउँमा छेडेर झुन्डिन सक्ने भुवनले बताए ।

केही समयअघिसम्म नेपालमा ट्याटु खोप्नुलाई नराम्रो दृष्टिले हेर्ने गरिन्थ्यो । तर, अहिले उच्च र मध्यम घरानाका व्यक्तिले शरीरका विभिन्न भागमा ट्याटु खोप्ने फेसन नै छ । १८–३० वर्ष उमेर समूहका नेपाली ट्याटुमा बढी आकर्षित देखिन्छन् । ‘अधिकांश नेपालीले भगवान्, मन परेका व्यक्तिको नाम, नेपालमा पाइने फूल र आस्थाका आधारमा चित्रहरू बनाउने गर्छन्,’ भुवनले भने, ‘विदेशीले भने नेपाल घुम्न आउँदा छोएको कुरालाई सम्झनास्वरूप ट्याटुमा उतार्ने गर्छन् ।’

पोखरामा पर्यटक रमाउने विभिन्न बहाना  छन्, आकाशमा उड्ने, तालमा तैरिने, गुफा पस्ने  त सामान्य नै भइसक्यो, अब त शरीरको छाला छेडेर डोरीमा झुन्डिने  साहसिक खेल पनि फस्टाएको छ

खास मान्छेहरू ट्याटुमा किन आकर्षित हुन्छन् ? भुवनले जवाफ फर्काए, ‘ट्याटु भनेको नयाँ लुगा लगाएजस्तै हो, समयअनुसार ट्याटुको डिजाइन पनि फरक–फरक हुन्छ ।

एक–दुई वर्षमा ट्याटु बदल्न मन लाग्छ । नेपालमा डाक्टर, पाइलट, व्यापारी पनि ट्याटुमा उत्तिकै आकर्षित छन् ।

भुवनले बडी सस्पेन्सन गर्न चाहनेका लागि ७० डलर मूल्य तोकेका छन् । ट्याटुको भने समयअनुसार फरक रकम पर्न जाने बताए ।

‘यसमा रमाउने मान्छेहरू पैसाका लागि भन्दा पनि आनन्दका लागि आउँछन्,’ भुवनले भने । डेभिल्स ट्याटु एन्ड बडी सस्पेन्सनमा आएर ह्यांगिङमा रमाउने विदेशी नै बढी हुन्छन् ।

@Nayapatrika

LEAVE A REPLY