काठमाडौं, असार १ – दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय आफ्नो मागअनुसार नभएको भन्दै राष्ट्रिय जनता पार्टीले चुनावमा भाग नलिने बताएको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले उज्यालो अनलाइनसँग कुरा गर्दै चुनाव र मनोनयनको मिति सार्ने सरकारको निर्णय आफूहरुको मागअनुसार नभएकाले चुनावमा भाग नलिने बताउनुभएको हो ।

‘यो हाम्रो मागअनुसार सारिएको होइन । हामीले त २ र ५ नम्बर प्रदेशमा स्थगित गर्नुपर्छ भनेका थियौं, उहाँले भन्नुभयो ‘दुई दिन मनोनयन सारेर राजपाले कसरी चुनावमा भाग लिन्छ ? लिने भए त अस्ती नै लिन्थ्यौं । त्यसकारण यो राजपाको समझदारीअनुसार भएको होइन ।’

सरकारले राजपालाई पनि सहमति ल्याएर स्थानीय तहको चुनाव गराउने भन्दै बिहीबार २ नम्बर प्रदेशको चुनाव असोज २ गते र १, ५ र ७ नम्बर प्रदेशको मनोनयन असार ४ गतेका लागि सारेको छ । सरकारले केही दिन राजपासँग निरन्तर परामर्श गरेर चुनाव सार्ने निर्णय गरे पनि उसले स्वामित्व लिन अस्वीकार गरेको हो । कर्णले संविधान संशोधनलगायत आफ्ना माग पूरा भए मात्र असोज २ गतेका चुनावमा भाग लिने सक्ने बताउनुभयो ।

सरकारको निर्णय सुनाउने क्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकारको निर्णय राजपाले स्वीकार गर्ने दाबी गर्नुभएको थियो ।

LEAVE A REPLY