काठमाडौं ,२६ साउन l  नेपाली सेनाले गत आर्थिक वर्ष पाँचवटा सडक निर्माणमा एक अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । सेनाले विभिन्न जिल्लामा उत्तरी क्षेत्रका र चीनसँग जोड्ने सडक निर्माण गरेको हो । आर्थिक वर्ष २०७३÷०७४ मा खर्चिएको यो रकमबाट भएको प्रगति सन्तोषजनक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षसम्मको सडकको समग्र अवस्थालाई सेनाले बनाएको सडकसँग तुलना गर्दा निर्माण सन्तोषजनक रहेको मन्त्रालयको निष्कर्ष छ । नेपाली सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, जाजरकोट-डोल्पा-दुनै, बेनीघाट-आरुघाट-लार्केभञ्ज्याँङ र मैलुङ-स्याफ्रुवेसी सडक निर्माण गरिरहेको छ । यी सबै सडकमा सरकारले गत वर्ष विनियोजन गरेको बजेटको शत्प्रतिशत काम भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले तयार पारेकोे प्रतिवेदनमा उल्लेख छ ।

नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले हाल निर्माणाधीन पाँचवटै सडकको प्रगति सन्तोजनक रहेको जानकारी दिए । यी पाँचवटै सडकमा बजेटले पुगेसम्म धमाधम काम भइरहेको छ । उनले भने, ‘हामीले निर्माण गरेका सडकमा ७६ किमिको कालिगण्डकी करिडोरको ट्र्याक पूरा भएको छ भने एक सय १७ किमिको जाजरकोट-डोल्पा-दुनै सडकमा १० किमि ट्र्याक बाँकी छ ।’ एक सय २० किमिको बेनीघाट-आरुघाट-लार्केभञ्ङ नयाँ भएकोले यसमा तुलनात्मक रूपमा बढी काम भएको छ । यसमा जम्मा १.२ किमि मात्रै ट्र्याक खोलिएको प्रतिवेदनमा उल्लेख छ । एक सय ९६ किमिको कालिगण्डकी करिडोर ३५ किमि ट्र्याक पूरा भएको र मैलुङ-स्याफ्रुवेसीको डबल लेन गर्नुपर्ने १७ किमि सडकमा सात किमि डबल लेन र १० किमि सिंगल लेनको ट्र्याक खुला भएको छ ।

सेनाले निर्माण गरेको कर्णाली करिडोरको २२ किमिमा यातायात सञ्चालन भइरहेको छ । यो सडकले कालिकोट, बाजुरा र हुम्लालाई जोड्छ । यो सडक आयोजना २०६५÷०६६ देखि सुरु भए पनि आयोजना पूरा हुने समय अहिलेसम्म निर्धारण भएको छैन । यो सडक निर्माणको कुल लागत दुई अर्ब ८४ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कालिगण्डकी करिडोरले गुल्मी र बागलुङलाई जोड्छ । यो सडक भने २०७० वैशाखबाट मात्रै सुरु भएको हो । यो आयोजनाको लागत ९६ करोड ६४ लाख रुपैयाँ रहेको भए पनि आयोजना पूरा हुने मिति भने यसको पनि उल्लेख भएको छैन । यो सडक ७६ किमि सबै ट्र्याक खुला गरिएको छ भने ५४ किमि सडकमा यातायातसमेत सञ्चालन हुन थालेको छ ।

मैलुङ-स्याफ्रुबेसी रसुवागढी सडकखण्ड २०७१ माघबाट नेपाली सेनाले सुरु गरेको हो । यो सडकको कुल लागत तय अझै भएको छैन । तर, सडक निर्माणका लागि आधाभन्दा बढी काम भइसकेको छ । यो सडकका लागि सरकारले विनियोजन गरेको ३५ करोड खर्च भइसकेको छ । यो सडक १७ किमि डबल लेनको हो । यसमा सात किमिको काम सकिएको छ । १० किमि सिंगल लेन पूरा भएको नेपाली सेनाको निर्माण विकास निर्माण निर्देशनालयले जनाएको छ ।

जाजरकोट-डोल्पा दुनै सडक बनाउन गत आवमा मात्रै नेपाली सेनाले २३ करोड रकम खर्चिएको छ । यसबाट एक सय १७ किमिमध्य एक सय १० किमि ट्र्याक पूरा भएको छ । यो सडक आव २०६६÷०६७ बाट सुरु भएको हो । यसको कुल लागत एक अर्ब ४७ करोड अनुमान गरिएको छ । यो सडकमा ७८ किमिमा यातायात नै सञ्चालन भइरहेको छ ।

यसैगरी बेनी-आरुघाट-लार्केभञ्ज्याङ सडकका लागि गत आवमा विनियोजन गरिएको सात करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । यो सडकको पनि हालसम्म लागत तय भएको छैन । गोरखामा निर्माणाधीन यो सडक २०७३ फागुनदेखिमात्रै सुरु भएको हो । सेनाले काम गरिहेको सडकमध्य सबैभन्दा पछिल्लो भएकाले पनि यसको प्रगति जम्मा १.२ किमि मात्रै ट्र्याक सम्पन्न भएको नेपाली सेनाको निर्माण निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ ।

@Annapurnapost.com

LEAVE A REPLY