पोखरा, ६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले पोखराका मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडानको पहल गरेकोमा सुनचाँदी व्यवसायीहरु उत्साहित बनेका छन् ।
सुनचाँदी व्यवसाय आफैमा संवेदनशील भएको र सबैभन्दा बढ सुरक्षा यही व्यवसायलाई आवश्यक पर्ने भन्दै उनीहरुले यो परियोजनालाई सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई गति दिनको लागि पोखरा उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायीहरुसँग बुधबार राखेको छलफल कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष राजेशमान बुद्धाचार्यले यहाँ भएका ३ सयवटा सुन पसलहरु यो अभियानमा जोडिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यता नेपाल सुनचाँदी तथा रत्न आभुषण संघ कास्कीका उपाध्यक्ष रामबहादुर बिकले संघले अगाडि सारेको यो परियोजनामा होस्टेमा हैँसे गर्न आफूहरु तयार रहेको बताउनुभयो । सिसी क्यामेरा जडानसँगै यसको मर्मत गर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा बोल्दै हिमालयन कम्युटरका संचालक जगन गुरुङले सिसी क्यामेरा जडानको क्रममा राखिने अप्टिकल फाइबरलाई टेलिफोन तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याउन सके तारैतारले कुरुप बनेको पोखरालाई सुन्दर बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा सिसी टिभी जडानबारे आफ्नो अवधारणा राख्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायीको सुरक्षाका साथै पोखरालाई सुरक्षित सहरको रुपमा चिनाउन पनि सिसी क्यामेराले सघाउने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा सुनचाँदी व्यवसायी चन्द्रकिशोर गौतमले पर्याप्त सुरक्षा नहुँदा अहिले पनि सुन पसलमा चोरी हुने गरेको प्रसंग झिक्दै यो परियोजनाले व्यवसायको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
सुनचाँदी व्यवसायी संघ कास्कीका महासचिव मनबहादुर लाम्गादेले असल नियतले अगाडि सारिएको परियोजनामा आफ्नो सक्दो सहयोग हुने वचनवद्धता व्यक्त गर्नुभयो । रुपाकोट ज्योति सुनचाँदी पसलका संचालक दशरथ सुनारले आफूले गरेको सहयोग सही ठाउँमा प्रयोग भएको अनुभूति हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY