पोखरा, ४ भदौ  l सामुदायिक सूचना समाज कास्कीद्धारा स्थापित यस वर्षको खोज अनुसन्धान मूलक सिआईएस पत्रकारिता पुरस्कारवाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् ।
पोखरामा रहेर विगत डेढ दशकदेखि रेडियो, पत्रिका र अनलाईन मार्फत खोज समाचार प्रकाशन र प्रशारण गर्न पत्रकार अथक सफल रहेको भन्दै संस्थाले यो पुरस्कार प्रदान गरेको हो । उक्त कार्यक्रममा कास्कीका उपजिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल र युवा ईन्जिनियर बिनोद गिरीलाई पुरस्कार सहित सम्मान गरेको हो ।
वर्षेनी प्रदान गरिने सिआईएस पत्रकारीता पुरस्कार यसवर्ष पत्रकार अथक, सिआईएस इन्फरमेसन अवार्ड उप जिल्ला शिक्षा अधिकारी ढकाल र सिआईएस आईटी अवार्ड इन्जिनियर गिरीलाई प्रदान गरिएको हो । राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटा, क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सुरक्षा निकायका क्षेत्रिय प्रमुख, सामुदायीक सुचना समाज पोखराका अध्यक्ष दिपक शर्मा लगायतले पुरस्कार एंव सम्मान प्रदान गर्नुभएको हो ।

सो पुरस्कारको राशी नगद ११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला रहेको छ । पत्रकार अथकलाई पुरस्कृत गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले समाजमा रहेको भ्रष्टाचार निर्मुल पार्न खोज पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने वताए । उनले नेपालमा स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारले जरो गाडेको वताउँदै यसलाई अन्त्य गरी सुशासन कायम गर्न पनि पत्रकारहरु चनाखो रहनु पर्ने वताए । राष्ट्रिय सूचना दिवसको अवसरमा खोज पत्रकारितामा संलग्न पत्रकारलाई सम्मान गर्ने अवसर मिलेको भन्दै उनले खुसी व्यक्त गरे ।
प्रतिभा छनौट समितिका संयोजक राजवहादुर गुरुङले कमल पौडेल अथक पोखराका निडर र निर्भिक पत्रकार भएको वताए । त्यही विशेषताको कारण उनले पोखराका थुप्रै पत्रकारको वीचवाट अथकलाई समितिले छनौट गरेको वताए ।
संस्थाका सचिव राजेन्द्र शर्माले पोखरामा वसेर खोज पत्रकारिता गर्ने एक जना पत्रकारलाई वर्सेनी सम्मान गर्ने संस्थाको योजना अनुसार यो वर्ष उत्कृष्टमा पर्न सफल अथकलाई वधाई ज्ञापन गरे ।
सम्मानित पत्रकार कमल पौडेल अथकले भ्रष्टाचारको विषयमा समाचार संकलन गर्दा आफै जागिरवाट वर्खास्त हुनु परेको घटना सुनाए । उनले भ्रष्टाचारीहरु शक्ति र पहुँचको आधारमा मिडिया हाउसलाई नै प्रभावमा पारेर श्रमजीवि पत्रकारमाथि आक्रमण गर्न लालायित हुने वताए ।
उनले मिडिया हाउसको समाचार प्रकाशन र प्रसारण नीति प्रष्ट नहुदा खोज अनुसन्धान गर्ने पत्रकारहरु माथि अन्याय भएको वताएका छन् । उनले भ्रष्टाचारका विषयमा समाचार संकलन गर्ने पत्रकार आफू पनि शुद्ध आचरणमा वस्न जरुरी रहेको वताए ।

LEAVE A REPLY