कात्तिक २९ l ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय… एक हजार…एक हजार एक सय…।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो ।

यहाँ पुरानो कार होइन, कसैको जमिन अथवा पुराना फर्निचरका सामान पनि होइन, यो कुनै त्यस्तो सामान्य व्यापार पनि थिएन, यो त दुईजना मानिसको बिक्रीका लागि भएको लिलाम बढाबढ थियो ।

एकजना नचिनिएका व्यक्तिको कारोबार भैरहेको मोबाइल भिडियो सिएनएन नाइजेरियाले प्राप्त गरेको छ । पहेँलो सर्ट लगाएको त्यो व्यक्ति २०/२१ वर्षका जस्तो देखिन्छन् ।

क्यामेरामा नदेखिएका लिलामकर्ताका अनुसार बिक्री भएका ती व्यक्तिलाई एउटा समूहले ‘फार्म हाउसको कामका लागि बलियो व्यक्ति’ भएको भन्दै खरिद गरेको बताएका छन् । छोटो भिडियोमा ती व्यक्तिले बिक्री भएका ती युवकको पिठ्युँमा धाप मारेको देखिन्छ ।

दासको रुपमा मानिसको बिक्री भएको भिडियो आफूलाई प्राप्त भएपछि सिएनएन भिडियोको थप पुष्टिका लागि लिबिया गएको थियो । गोप्य रुपमा खिचिएको भिडियोमा ‘ह्यामर’ ठोक्दै गर्दा ६÷७ जना उपस्थित भएको देखिन्छ ।
‘कसैलाई खानीमा काम गर्ने मानिस चाहिएको छ ? यो खानीमा काम गर्ने मान्छे हो, एउटा बलवान मान्छे, उसले राम्रो खन्न सक्छ ।’ के म टेण्डर खोलुँ ?’ लिलामकर्ता चिच्याउँदै थिए ।

खरिदकर्ता मूल्यको बढाबढसँगै हात उठाउँदै थिए । ‘५००, ५५०, ६००, ६५०… ।’ यसरी पलभरमै ती युवकहरु बेचिए । आफ्नो भाग्यलाई दोष दिँदै उनीहरु अब नयाँ ‘मालिक’ का दास भए ।

लिलाम बढाबढको काम सकिएपछि दुई युवकलाई सिएनएनको टोलीले भेट्यो । ती युवक निःशब्द थिए । उनीहरुको मुखबाटै वाक्य नै फुटेको थिएन । उनीहरु मालिकको डरले नयाँ व्यक्तिलाई भेट्न सशंकित देखिन्थे ।

लिबियामा मानिसको दासको रुपमा खरिद बिक्री

सिएनएनलाई प्राप्त जानकारी अनुसार लिबियाका नौ ठाउँमा यस्तो खरिद बिक्री हुन्छ । तर यस्ता खरिद बिक्री हुने ठाउँ अझ धेरै भएको हुन सक्ने आशंका गरिएको छ ।

हरेक वर्ष हजारौँ लिबियन नागरिक जोखिमपूर्ण सामुद्रिक यात्राको सहायताले सुखद भविष्यको कल्पना गर्दै युरोपको यात्रामा निस्कन्छन् । धेरैले आफ्नो भएको सबै सम्पत्ति बेचेर जाने गर्दछन् । तर  कोस्टगार्डले फर्काएपछि भने उनीहरुको विचल्ली हुन्छ । लिबियन सुरक्षाकर्मीले गरेको कडाइका कारण अहिले अवैधानिक रुपमा युरोप जानेहरुको संख्यामा कमी आए पनि तस्करहरुको मद्धतले जानेहरु पनि धेरै हुन्छन् । त्यसैले पनि तस्करहरु मालिक हुन्छन्, र आप्रवासी तथा शरणार्थीहरु दास ।

सिएनएनलाई प्राप्त प्रमाणहरु लिबियन अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । लिबियन अनुसन्धान निकायले अनुसन्धान गर्ने बाचा गरेको छ । लिबियामा युरोप जाने आप्रवासी तथा शरणार्थीहरुको मात्रै होइन, आन्तरिक रुपमै मानिसको खरिद बिक्री हुने घटनाले २१ औँ शताब्दीमा पनि मानिस मानिसबिचमा दास र मालिकको सम्बन्धमा रहनु दुःखद कुरा हो ।

LEAVE A REPLY