कञ्चनपुर, भदौ ११ l सहकर्मीको हत्या गरेको आशंकामा प्रहरीले सशस्त्र प्रहरीका एक जवानलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका जवान नरेन्द्र कुँवरको हत्याको आशंकामा सशस्त्र प्रहरीको बडिमालिका गण बोराडाँडीमा कार्यरत भीमदत्त नगरपालिकाको हल्दुखालका भानबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

बिष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । उहाँका अनुसार बिष्टले कुँवरको हत्या गरेको स्वीकार गरेका छन् । तर हत्या किन गरियो भन्ने विषयमा अझै खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिष्टको साथबाट कुँवरले लगाएको सुनको सिक्री समेत बरामद गरेको छ । भन्सार सुरक्षा गार्ड गड्डाचौकीमा कार्यारत कुँवरको भीमदत्त नगरपालिका–३ तिलकपुरमा गएको बुधबार राति हत्या भएको थियो । बुधबार ड्युटी सकेर बेलुका ६ बजे घर जान भनि निस्किएका कुँवरको बिहीबार बिहान भीमदत्त नगरपालिका–६ ऐठपुरको पुलको उत्तरपट्टि ढुंगामाथि शव फेला परेको थियो ।

@Unn.com.np

LEAVE A REPLY