वैशाख १४, २०७४- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको आवरणमा सरकारले मुलुकलाई विखण्डनतिर लैजान लागेकाे आरोप लगाएका छन् । उनले मधेसी मोर्चासंग भएको सहमतिमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षडयन्त्र भएको पनि दावी गरे ।

उनले नेपाली बाहेकका कुनै पनि भाषा सरकारी कामकाजको भाषा हुन नसक्ने जिकीरसमेत गरे । उनले सिधै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने नभनिएपनि संविधानको संशोधनमा आएको भाषाासम्बन्धी ब्यवस्था हिन्दीलाई मान्यता दिन रहेको दावी गरे ।

स्थानीय तह निर्वाचनका लागि केन्द्रीय प्रचार विभागले पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार गरेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै उनले भने, ‘सीमांकन हेरफेर गर्दा सम्बन्धित प्रदेशको सहमति नचाहिने व्यवस्थासहित सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्तावले मुलुकलाई बिखण्डनतिर लैजान्छ ।’

चुनाव नगराउने खेल
ओलीले सरकार आफै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । चुनाव घोषणा गरिसकेपछि स्थानीय निकायको संख्या थप्ने तथा ‘कथित’ जनसंख्याको आधारमा नयाँ स्थानीय तह बनाउने कुराले सरकार चुनाव नगराउने खेलमा लागेको स्पष्ट हुने उनको भनाई थियो ।

सरकार किर्ते
नेपाल प्रहरीका डीआइजी नवराज सिलवालको सन्दर्भमा सरकारले किर्ते गरेको उनको भनाई थियो । उनले गृहसचिव, आइजीपीसहितको हस्ताक्षर भएको कागज सिलवालले पेश गरेकोमा सरकारले त्यही हस्ताक्षरको कार्यसम्पादन मुल्यांकन किर्ते गरी अर्को बनाएको उनको आरोप थियो । उनले सिलवाललाई पक्राउ गरेकोमा पनि बिरोध जनाए । भने, ‘सरकारले आतंक सिर्जना गरेको छ ।’

बयलगाडा प्रकरण
पूर्वराजा ज्ञानेन्द्रको शासनका बेला गणतन्त्रको कुरा उठ्दा ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिंदैन’ भनेको चर्चा भएको थियो । हालै माओवादी समर्थकहरुको फेसबुक पेजमा ओली बयलगाडा चढेर हिंडी रहेको र सुपरम्यानको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आएर उडाएर अमेरिका घुमाएर गणतन्त्रमा पुर्याएको एउटा भिज्युअल प्रचार सामाग्री देखा परेको छ । यही प्रसंगमा उनले विदेशी ‘एक्सपर्ट’ हरु ल्याएर यस्तो प्रचार सामाग्रीहरु बनाएको उल्लेख गरे । उनले भने, ‘बाहिरबाट एक्सपर्टहरु ल्याएर बयलगाडा प्रचार सामाग्रीहरु बनाएका छन् । हामीले उनीहरुसंग मुकाविला गर्नुछ ।’

LEAVE A REPLY