२४ साउन, काठमाडौं । पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

राप्रपा विभाजनमा परोक्ष भूमिका खेलेको उसको आरोप छ । साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप लगाएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपाको दाबी छ । ‘राष्ट्रवादी एवं हिन्दुराष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने राष्ट्रिय, अन्तराष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा र यसको नेतृत्वविरुद्ध प्रहार गरेका थिए’ राप्रपाले भनेको छ, ‘पार्टी विभाजन त्यही श्रृखलाको पछिल्लो कडी हो ।’

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।

राप्रपाले राणा समूहमा केन्द्रीय सदस्यको ४० प्रतिशत नभएको दाबी गरेको छ । पार्टी फुट्नु अघि केन्द्रीय समितिमा १६५ जना रहेको भन्दै राप्रपाले राणा समूहले निर्वाचन आयोगमा बुझाएको ६४ जनाको हस्ताक्षरमध्ये ७ जना केन्द्रीय सदस्य नै नभएको र केहीको कीर्ते हस्ताक्षर रहेको दाबी गरेको छ ।

राप्रपाले भनेको छ, ‘राप्रपा विभाजन गर्ने उद्देश्य राखि आयोगमा २२ गते दिइएको निवेदनमा ४० प्रतिशत केन्द्रीय सदस्यहरुको समर्थन नरहेको प्रष्ट भएकाले अबिलम्ब खारेज गर्न अनुरोध गर्दछ ।’

@Onlinekhabar.com

LEAVE A REPLY