Woman Applying Sunscreen --- Image by © Royalty-Free/Corbis

७३ प्रतिशत सनस्क्रिन तिनका विज्ञापनमा भनेजस्तो प्रभावकारी नहुने वा तिनमा खराब तत्व हुने सनस्क्रिनबारे बेलाबेला गरिएका विभिन्न अध्ययनले देखाएका छन् । एक वैज्ञानिक भन्छन्, ‘सनस्क्रिनका विज्ञापन भ्रामक छन् ।’

गर्मी लागेपछि उपभोक्ता घामका हानिकारक अल्ट्राभाइलेट किरणबाट कसरि जोगिने चिन्तित हुन्छन् । तर घामको विकिरण रोक्ने दाबी गर्ने सनस्क्रिनहरूमध्ये कुन सबैभन्दा सुरक्षित छ त ?

इन्भाइरनमेन्टल वर्किङ ग्रुप (इडब्लुजी) ले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार यसले परीक्षण गरेका ८ सय ८० सनस्क्रिनमध्ये ७३ प्रतिशतले तिनका विज्ञापनमा भनेजस्तो काम नगर्ने अर्थात घामका हानीकारक विकिरण रोक्दैनन् । यतिमात्र होइन, ती सनस्क्रिनमा स्वास्थ्य बिगार्ने तत्वहरू समेत पाइएको प्रतिवेदनले उल्लेख गरेको छ । अध्ययनकर्ताहरू भन्छन्– सबै सनस्क्रिन गुणस्तरीय छैनन् ।

‘सनस्क्रिनको भ्रामक बजारीकरण गरिँदा उपभोक्ता ती सनस्क्रिन विज्ञापनमा देखाएजस्तै अत्यन्त प्रभावकारी भएको विश्वास गर्छन्,’ भन्छिन् २०१७ सनस्क्रिन गाइडकी प्रमुख वैज्ञानिक तथा इन्भाइनमेन्टल एडभोकेसी ग्रुपकी वैज्ञानिक सोन्या लन्डर ।

कैयौं सनस्क्रिन, मोइस्चराइजर र ओठमा लाउने बाम (च्यापस्टिक/जेल)को एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर), रासायनिक घटक र समग्र सुरक्षा तथा प्रभावकारिता परीक्षणपछि एडभोकेसी ग्रुपले सनस्क्रिनको उत्तम र खराब वर्गिकरण गरी सूची तयार पारेको छ ।

कन्जुमर रिपोर्टले मेमा जारी गरेको गाइडले पनि सनस्क्रिनलाई सुरक्षा, अल्ट्राभाइलेटबाट सुरक्षा, पानी प्रतिरोधक र मूल्यका आधारमा रेटिङ गर्दा परीक्षणमा ५८ उत्पादनमध्ये १५ वटाले मात्र स्वास्थ्यसम्बन्धी निर्धारित मापदण्ड पूरा गरेको फेला पारेको थियो । २० उत्पादनमा भने विज्ञापनमा उल्लेख गरेभन्दा न्यून एसपीएफ सुरक्षा पाइएको थियो ।

एसपिएफको कति मात्रा उपयुक्त

चर्मरोग विशेषज्ञहरू घामको हानीकारक अल्ट्राभाइलेट (युभी) किरण रोक्न सनस्क्रिन लगाउन सुझाव दिन्छन् । युभी ए र युभी बी दुवै प्रकारका किरणका कारण छालाको क्यान्सर हुनसक्छ । युभी ए छालाको गहिराइसम्म पस्ने भएकाले छालाको सतहमा यसको प्रभाव जस्तोकि छाला डढ्ने र पोल्ने देखिँदैनन् । तर युभी बी भने छोटो हुन्छ र यसले छालाको सतह प्रभावित गर्छ अर्थात छाला डढाउँछ । दुवै युभीका कारण मेलानोमा र छालाका अन्य क्यान्सर लाग्छ । अहिले बजारमा पाइने सनस्क्रिनले दुवै प्रकारका युभीबाट जोगिन सघाउँने दाबी गर्छन् ।

‘ब्रोड स्पेक्ट्रम’ युक्त सनस्क्रिनले केही मात्रामा युभी ए किरणबाट जोगाउँछ । यसैगरी एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) नम्बरले घामका युभी बी किरणबाट सनस्क्रिनले दिने सुरक्षाको तह वा समय जनाउँछ ।

मायो क्लिनिकका चर्मरोग विशेषज्ञ डा. डन डेभिसका अनुसार कुनै व्यक्ति सनस्क्रिन नलगाइ घामको असरबाट जोगिन सक्ने समय र सनस्क्रिन लगाएर घामको असरबाट जोगिन सक्ने समयको अनुपात एसपिएफ हो ।

अर्को शब्दमा यदि तपाईं भूमध्यरेखामा मध्यान्ह १२ बजे उभिनुभएको छ र सनस्क्रिन लगाउनु भएको छैन भने एक मिनेटपछि नै तपाईंको छाला रातो हुन्छ र डढ्न थाल्छ । सनस्क्रिन एसपिएफ १५ को अर्थ यो सनस्क्रिन लगाएर तपाईं त्यहाँ १५ मिनेटसम्म घाममा उभिन सक्नुहुन्छ वा यसले तपाईंलाई १५ मिनेटसम्म युभी बी किरणबाट जोगाउन सक्छ ।

तर घामको युभी बी किरणबाट जोगिन एसपीएफ १५ भएको सनस्क्रिन पर्याप्त नहुने विशेषज्ञहरू बताउँछन् । द अमेरिकन एकेडेमी अफ डर्माटोलजीले कम्तीमा एसपीएफ ३० भएको सनस्क्रिन छान्न सुझाएको छ, जसले युभी बी किरण ९७ प्रतिशतसम्म रोक्छ ।

त्यसो भए के एसपीएफ बढी भएको राम्रो हो त ? ‘त्यस्तो पनि होइन,’ लन्डर भन्छिन्, ‘कैयौं कम्पनीले उत्पादन गरेका बढी एसपीएफयुक्त सनस्क्रिनले उपभोक्तालाई घामका विकिरणबाट दाबी गरेजस्तो जोगाउन सकेका छैनन् ।’

घामका युभी किरणबाट जोगिन केही घन्टाको फरकमा दोहो¥याएर सनस्क्रिन लगाइरहनु पर्छ । उनी एसपिएफ ३० देखि ५० सम्मका सनस्क्रिन लगाउन सुझाव दिन्छिन् ।

स्प्रे सनस्क्रिन

अहिले पौडी खेल्दा वा तुरुन्त बाहिर जानु परे परम्परागत क्रिम सनस्क्रिनको साटो एरोसोल सनस्क्रिनको प्रयोग लोकप्रिय हुँदै गएको छ । तर अनुसन्धानकर्ताहरू प्रायशः स्पोर्टस् संस्करणमा आउने एरोसोल सनस्क्रिनले पर्याप्त सुरक्षा नगर्ने बताउँछन् । सन् २०१५ मा गरिएको अध्ययनले क्रिम सनस्क्रिनभन्दा यस्ता स्प्रे सनस्क्रिन न्यून प्रभावकारी भएको पत्ता लगाएको थियो ।

लन्डर इडब्लुजीले सर्वसाधारणलाई एरोसोल सनस्क्रिन प्रयोग नगर्न आग्रह गरेको बताउँछिन् । डेभिस भन्छन्, ‘तपाईंले नियमित प्रयोग गर्नु भयो भने सनस्क्रिन प्रभावकारी हुन्छ तर सनस्क्रिन सुँघ्न हुँदैन ।’ सनस्क्रिन स्प्रे गर्दा श्वासप्रश्वासबाट सुँघिने सम्भावना हुन्छ र यसो गर्नु जोखिमपूर्ण हुन्छ ।

रासायनिक तत्व

सनस्क्रिन उत्पादक कम्पनीहरू रासायनिक पदार्थ प्रयोग गर्छन् । यस्ता रासायनिक पदार्थमध्ये केही स्वास्थ्यका लागि हानिकारक छन् । छालाको एलर्जी भएका वा संवेदनशील त्वचा भएका व्यक्तिले जिंक अक्साइड र टाइटानियम अक्साइडयुक्त सनस्क्रिन प्रयोग गर्ने । किनभने दुवैले युभी किरण रोक्छन र एलर्जिक प्रभाव पनि पार्दैनन् ।
उपभोक्ताले सनस्क्रिनमा हुने दुईवटा रसायन अक्सिबेन्जन र रेटिनिल पाल्मिटेटबाट जोगिन सल्लाह दिन्छन् विशेषज्ञ । अक्सिबेन्जिनले शरीरमा हर्मोनको उत्पादन अवरुद्ध गर्छ र महिला प्रजनन् प्रणालीमा नकारात्मक असर पार्छ ।

भिटामिन एको एउटा स्वरुप रेटिनिल पाल्मिटेट वर्षौंदेखि विवादित छ । केही अनुसन्धाताले यो जोखिमपूर्ण भएको र घाममा बस्दा यसका कारण छालामा ट्युमर हुनसक्ने पत्ता लगाएका थिए ।

अरु केही अनुसन्धाता भने रेटिनिल पाल्मिटेट र छालाको क्यान्सरबीच कुनै सम्बन्ध छैन र यसको दुष्प्रभाव शरीरमा भएका भिटामिन सी र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले न्यून पार्न सकिन्छ भन्छन् ।

उद्योग व्यापार समूह द पर्सनल केयर प्रोडक्ट काउन्सिलले इडब्लुजी २०१७ गाइड टु सनस्क्रिन्सले घाममा हिँडडुल गर्दा छालामा पर्ने असर र छालाको क्यान्सरबाट जोगिन सनस्क्रिनको महत्वबारे जनचेतना जगाउन सघाए पनि यो त्रुटिपूर्ण छ र उपभोक्तालाई दुविधामा पार्छ भन्छ ।

काउन्सिलका मुख्य वैज्ञानिक बेथ जोनासका अनुसार सनस्क्रिनसम्बन्धमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन डिपार्टमेन्ट (एफडिए)को कडा र विश्वसनीय परीक्षण विधि तथा नियमन नै पर्याप्त रहेको काउन्सिलको भनाइ छ ।

कस्ता सनस्क्रिन लगाउने ?

इडब्लुजीले प्रतिवेदनमा सुरक्षित र घामका हानिकारक किरणबाट जोगाउने सनस्क्रिनको सिफारिश सूची जारी गरेको छ । इडब्लुजीले सनस्क्रिन छान्दा उपभोक्तालाई तीन वटा कुरामा ध्यान दिन सुझाव दिएको छ । ती हुन्– घामका युुभी बी किरण रोक्न एसपिएफ २० देखि ५०, युभी ए किरण रोक्न जिंक अक्साइड र टाइटानियम अक्साइडयुक्त सनस्क्रिन प्रयोग गर्न । अक्सिबेन्जन तथा रेटिनिल पाल्मिटेटयुक्त सनस्क्रिन भने प्रयोग नगर्न पनि सुझाव दिएको छ ।

जुनसुकै सनस्क्रिन भए पनि प्रत्येक दुई÷दुई घन्टामा सनस्क्रिन लगाउनुपर्छ र कुनै कुनै बेला त अझ छिटो पनि लगाउनुपर्ने हुन्छ– जस्तो कि धेरै पसिना आउँदा वा पौडी खेल्दा वा पानीमा भिज्दा । वाटरप्रुफ वा वाटर रेसिस्टेन्ट सनस्क्रिन नै भए पनि यस्तोमा फेरि दोहो¥याएर लगाउनु पर्छ ।

डेभिस भन्छन्, ‘त्यस्तो कुनै सनस्क्रिन छैन जुन वाटरप्रुफ होस् र एफडिएले अहिले यो शब्दावली नै हटाउन सिफारिश गरेको छ । कुनै सनस्क्रिन वाटरप्रुफ हुँदैन ।’ तर वाटर रेसिस्टेन्ट सनस्क्रिन भने प्रयोग गर्न सकिन्छ ।

उनी घामका हानिकारक युभी किरणबाट जोगिन पहिरनको पनि महत्वपूर्ण भूमिका हुने बताउँछन् । उनी उपभोक्तालाई घामका हानिकारक किरणबाट जोगिन पूरा बाहुला भएका पहिरन, ठूलो घेरा भएको ह्याट र सनग्लास लगाउन सुझाव दिन्छन् । – swasthyakhabar

 

LEAVE A REPLY