पोखरा, २५ साउन l विगत केही दिन यता धारामा धमिलो पानी आउन थालेपछि पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली बुधबार नेपाल खानेपानी संस्थानको पोखरा शाखा पुगेर शुद्ध पानी वितरणको माग गरेका छ ।
संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संस्थानमा पुगेको टोलीले धारामा लेदो माटो सहितको धमिलो पानी आएको र उक्त पानी पिउन योग्य नभएको अवगत गराएको थियो । सबै उपभोक्ता निजी कम्पनीको पानी किनेर खान सक्ने हैसियतको नभएको भन्दै तुलाचनले शुद्ध पानी पिउन पाउने नागरिकको अधिकार भएको भन्दै यथाशक्य शुद्ध पानी वितरण गर्न संस्थानसँग तुलाचनले माग गरे । फोहोर पानीले रोगको महामारी फैलने डर पनि उत्तिक भएको संघका महासचिव गणेशराज पहारीले सुनाए । सो अवसरमा संघका उपाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, सचिव राजेन्द्र ढकाल र कोषाध्यक्ष पार्वती पाण्डे पनि उपस्थित थिए ।
नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक अधिकृत दिनेश्वरप्रसाद यादवले पोखरामा पानी आउने मुहान क्षेत्र वरपर गएका पहिरोहरु, सडक संजालको विस्तार तथा बस्ती बढेसँगै खानेपानी धमिलो आएको बताए । विगत केही दिन देखिको फोहोर पानीको कारण भने पहिरो भएको उनले सुनाए । मर्दीखोलाबाट १६ इन्च र २० इन्चका पाइपबाट ल्याइएको पानी विना कुनै उपचार पोखराको विन्ध्यबासिनीमा भएका संस्थानको ट्यांकीमा खसाल्ने गरेको र त्यहाँ क्लोरिन मिसाएर पोखरामा पानी वितरण गर्ने गरिएको उनले जानकारी दिए । हामी पनि लेदो पानी पठाउने कि नपठाउने भनेर दोधारमा थियौं, तर धेरै दवाव आएपछि धमिलो नै भए पनि वितरण गरिरहेका छौं, उनले भने ।
खोलाको पानी सिधै वितरण गर्ने वर्तमान अवस्था अझै चार वर्ष समाधान नहुने संस्थानले बताएको छ । खानेपानी ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि संस्थानले जाइकालाई जिम्मा दिएको छ । चार अर्व रुपैयाँ हाराहारीको लागतमा जाइकाले मर्दीबाट पोखरा आउने पानी उपचार गर्ने कार्यक्रमका लागि टेण्डर आव्हान गर्न बाँकी छ । ट्यांकी लगायतका अन्य निर्माण कार्यका लागि जग्गा अधिग्रहण गरी मुअव्जा वितरणको काम करिव सकिएको बताइएको छ । तर पोखरामा मर्दी बाहेक भोटीखोला, कालिमुढा, माझकुला र घट्टेकुनाबाट पनि पानी आउँछ । मर्दीमा ट्रीटमेन्ट प्लान्ट बनाउने अन्यत्रबाट आउने पानीका लागि नबनाउने गर्दा समस्या समाधान नहुने प्राविधिक यादवले बताए ।
यसैगरी पानी फोहोर नहोस् भनी मर्दीको मुहान क्षेत्र वरपर पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभान मा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बन्दै पनि गरेका छन् । मुहान क्षेत्रमा मर्दी खोला किनारमा लास पनि जलाउने गरिएकोमा त्यसका लागि उल्लेखित काम सुरु भएको हो ।
संस्थानका अनुसार पोखरामा चौबीसै घण्टा पानी पुर्याउन दैनिक ६ करोड ५० लाख लिटर आवश्यक छ । हाल बर्खामा दैनिक ४ करोड ५० लाख र अन्य मौसममा ४ करोड लिटर मात्रै वितरण भइरहेको छ । पोखरामा ४० हजार खानेपानीका ग्राहक छन् ।

LEAVE A REPLY