मंसिर ७, पोखरा । सडकमा कार्यक्रम नगर्नका लागि पोखराका व्यवसायीहरुले दबाब दिएका छन् । सडक नै ढाकिने गरी राजनीतिक दल तथा अन्य संघसंस्थाहरुले कार्यक्रम गरिदिँदा व्यवसाय नै चौपट भएकाले व्यवसायीहरु आक्रोशित भएका हुन् । सडकमा बारम्बार कार्यक्रम आयोजना भएपछि त्यसको सांकेतिक बिरोध स्वरुप चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको अगुवाईमा त्यस क्षेत्रका व्यवसायीले बिहीबार केहीबेर व्यवसाय समेत बन्द गरे ।
उनीहरुले बिहीबार नै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेटेर सडकमा कार्यक्रम गर्नका लागि स्वीकृति नदिन मागसमेत गरेका छन् । सकडमा कार्यक्रम आयोजना हुँदा ट्राफिक अस्तव्यस्त हुने, सर्वसाधरणको आवातजावतमा समस्या हुने भएकाले कार्यक्रम गर्नका लागि खुल्ला चौर रोज्न सबैलाई आग्रह गरिएको समितिका अध्यक्ष डिबी भुजेलले जानकारी दिए ।
केही दिन अगाडि बिबेकशील साझा पार्टीले चिप्लेढुंगामा कार्यक्रम गर्दा व्यवसायीले बिरोध गरेपछि कार्यक्रम रेष्टुरेन्टमा सारेर गरिएको थियो । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चिप्लेढुंगास्थित सडकमै कार्यक्रम गरेपछि व्यवसायी आक्रोशित भएका हुन् । ‘सडकमा कार्यक्रम नगर्न हामीले बारम्बार आग्रह गरिरहेका छौं,’ अध्यक्ष भुजेलले भने, ‘अटेर गरेर बारम्बार सडकमै कार्यक्रम आयोजना भएपछि हामीलाई निकै समस्या भएको छ ।’
सडकमा कार्यक्रम आयोजना भएपछि चिप्लेढुंगा सिद्धार्थचोक क्षेत्रको व्यापार शुन्य हुने गरेको भुजेलले बताए । व्यवसायीहरुलाई चिप्लेढुंगा सडक समिति, महिला समाज सेवा समिति चिप्लेढुंगा, आदर्श टोल विकास संस्था, पोखरा ट्रेड मल लगायतका संस्थाले पनि साथ दिएका छन् । आगामी दिनमा सडकमा कार्यक्रम नगर्न व्यवसायीहरुले सरोकारवाला सबैसँग माग गरेका छन् ।

LEAVE A REPLY