काठमाडौं, वैशाख १७ l व्यवस्थापिका संसदमा आइतबार संविधान संशोधन विधेयक पेश हुँदैछ । संसद बैठकमा विधेयक र त्यसमाथि दर्ता भएका प्रस्ताव पेश गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा विधेयक र संशोधन प्रस्तावमाथि छलफल सकेर निर्णयार्थ पेश गर्ने तयारी रहेको तर छलफल लम्बिए सरकारले पेश गरेको मुल संशोधन प्रस्तावमाथिको मतदान सोमबार मात्र हुनसक्ने सम्भावना पनि छ । संविधान संशोधन विधेयकमाथि विभिन्न दल र सांसदले व्यक्तिगत रुपमा ५० वटा संशोधन प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

यसैबिच सरकारले एमाले बाहेक नै दुईतिहाई बहुमत पुर्‍याउने कसरत तीव्र बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत माओवादी केन्द्रका नेता र कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कांग्रेस नेताहरुले साना दलका सांसदसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेका छन् ।

यस्तै कुनैपनि हालतमा २ तिहाई पुग्न नदिने रणनीतिमा रहेको एमालेले पनि साना दलका सांसदलाई आफ्नो पक्षमा पार्ने प्रयास पनि जारी राखेको छ । दुई तिहाई पुर्‍याउने सत्तापक्ष र पुग्न नदिने विपक्षीको रणनीतिका कारण साना दलका सांसदहरुको मत निर्णायक हुने भएको छ । संशोधन पारित गर्न अहिले संसदमा रहेका ५ सय ९३ सांसदको दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पर्छ ।

कांग्रेसको २ सय ७, माओवादीको ८१, राप्रपाको ३७, राजपाको २४, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४, नेकपा संयुक्तको ३ र अरु साना दलको १० गरी सत्तारुढ गठबन्धनसँग ३ सय ९१ सांसद छन् । यसमा २ जना सांसदले मतदान गर्न नपाउने भएकाले सत्तारुढ गठबन्धनले ७ जना सांसदलाई विधेयकको पक्षमा मनाउनुपर्ने छ ।

यस्तै, विपक्षी गठबन्धनमा एमालेका १ सय ८१, मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र नेपा पार्टी, बहुजन शक्ति र मधेस समता दलका एक, एक सांसद छन् ।

सबै जोड्दा विपक्षी गठबन्धनसँग १ सय ९८ सांसद छन् । यो संख्या संसदमा एक तिहाईभन्दा बढी हो । तर यो गठबन्धनबाट एमाले माले नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेकका दललाई विधेयकको पक्षमा मनाउन सत्तारुढ दलले छलफल चलाइरहेका हुन् ।

@ujyaaloonline

LEAVE A REPLY