वैशाख १४, २०७४- नेकपा एमालेसहित नौ दलीय विपक्षी गठबन्धनले सरकारद्वारा संसदमा पेस भएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने औपचारिक निर्णय गरेको छ ।

बिहीबार नयाँ बानेश्वरमा बसेको गठबन्धनको बैठकले संविधान संशोधन विधेयकमाथि थप संशोधन हाल्ने निर्णय समेत गरेको छ । गठबन्धन नेता बहुजन शक्ति पार्टी अध्यक्ष विश्वेन्द्र पासवानका अनुसार विपक्षी दलहरुको संयुक्त र दलगत रुपमा छुट्टाछुट्टै संशोधन हाल्ने निर्णय भएको छ । गठन्बनधन आबद्ध दलमा एकतिहाई भन्दा बढी सांसद छन् । यदि यो गठबन्धन कायम रहेमा सरकारद्वारा पेस भएको संविधान विधेयकको पक्षमा दुई तिहाई नपुग्ने देखिन्छ । तर, सरकारले एमालेको समर्थन बिना नै संशोधन प्रस्ताव पारित हुने दाबी गरेको छ ।

सरकारले मधेसी मोर्चासहित आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउन भन्दै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक झन् राष्ट्रहित विपरीत रहेको गठबन्धनको निष्कर्ष छ । प्रदेश सीमा हेरफेर गर्दा सम्बन्धित प्रदेशको सहमति लिनुपर्ने भन्ने संविधानको प्रावधान हटाएर प्रदेशको परामर्श लिएर सीमा फेरबदल गर्न सक्ने व्यवस्थासहित गर्ने गरी नयाँ विधेयक ल्याएपछि विपक्षी रुष्ट बनेको छ ।

यो विधेयक पारित भएमा प्रदेशको अधिकार कटौती हुने र अन्तत देश विखण्डनमा जाने विपक्षी गठबन्धनको तर्क छ । उनीहरुले भाषाका विषयमा पनि आपत्ति जनाएका छन् ।
गठबन्धनमा एमाले, माले, नेमकिपा लगायत दल छन् । तर, गठबन्धनमै आबद्ध राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल लोकतान्त्रिक फोरममा समाहित भएको छ ।

LEAVE A REPLY