काठमाडौं, बैशाख २१–प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई पारित गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।

अध्यक्ष ओलीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई मतदानमा लैजान समेत सरकारले आँट गर्न नसकेको दावी समेत गरे ।

विहिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकार संविधान संशोधन प्रस्तावलाई भोटिङमा लैजान डराईरहेको आरोप लगाए ।

उनले प्रतिपक्ष दलहरु संविधान संशोधन प्रस्तावको डटेर सामना गर्न तयार रहेको पनि स्पष्ट पारे ।

गत १७ गते नै संविधान संशोधन प्रस्तावलाई मतदानमा लैजाने संसदको कार्यसूचिलाई सरकारले पछि सारेको थियो ।

अध्यक्ष ओलीले सरकारलाई निर्वाचनमा केन्द्रित हुने बेला अनावश्यक झमेला खडा नगर्न पनि सचेत गराए ।

एमालेले राष्ट्रहित विपरित रहेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दावी गर्दै आएको छ ।

LEAVE A REPLY