वैशाख २०, २०७४- स्थानीय निकायको चुनावको लागि मंगलबार भएको मनोनयनमा मनाङ् र डोल्पाको एक/एक गाउँपालिकाको प्रमुखसहित अधिकांश पदहरुमा निर्वरोध भएको छ । मनाङको नारफुमा कांग्रेसको उम्मेदवार र डोल्पाको शे फक्सुण्डोमा एमालेका उम्मेदवारहरु निर्विरोध भएका हुन् ।

को कहो निर्विरोध ?
शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा –प्रमुख तसी तुण्डुप गुरुङसहित उपाध्यक्ष बाहेकका सबै, एमाले
नारफू गाउँ पालिका, मनाङ– प्रमुख मिङ्माछिरिङ लामा, काँग्रेस
वडाध्यक्ष नं. १, २ र ३ कांग्रेस, ४ र ५ मा स्वतन्त्र
चुमनुब्री गाउँपालिका, गोर्खा – वडा नं. १ अध्यक्ष, वीरबहादुर गुरुङ, कांग्रेस
वडा नं. ३ अध्यक्ष, पेम्बा रेता, कांग्रेस
वडा नं. ५ अध्यक्ष, सोनाम ग्याल्जेन गुरुङ
(१५ जना सदस्यसहित)
छायाँनाथ रारा नगरपालिका, मुगु– वडा नं. ७ अध्यक्ष, मणिचन्द रोकाय
रघुगंगा गाउँपालिका, म्याग्दी – वडा न‌ं. ४ अध्यक्ष, एकबहादुर गर्बुजा कांग्रेस
मुख्य निर्वाचन कार्यालय डोल्पाका अनुसार शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका तसी तुण्डुप गुरुङको मात्र उम्मेदवारी परेको छ । त्यसैगरी ९ वडा रहेको उक्त गाउँपालिकामा ९ वटै वडामा एमालेका तर्फबाट वडा अध्यक्ष, ९ वटा महिला सदस्य, २ जना दलित महिला सदस्य र १८ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा मात्र प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा एमालेका छोल्डिम पाल्मु लामा र स्वतन्त्र दावा लामासहित ३ जनाको उम्मेदवारी परेको छ ।

त्यसै गरी डोल्पाकै काइके गाउँपालिकाको वडा नं. ५ को वडा अध्यक्षमा राजु रोकाया एक जनाको मात्र उम्मेदवारी परेको छ । यस गाउंपालिकामा वडा नं. १ को वडा अध्यक्ष र अन्य वडाका वडा सदस्यहरुमा पनि एक जनाको मात्र उम्मेदवारी परेको जानकारी आएको छ ।

त्यसैगरी हिमाली जिल्ला मनाङको नारफू गाउँपालिका प्रमुखमा मिङ्माछिरिङ लामा निर्विरोध भएका छन् । गाउँपालिका प्रमुखमा अन्य कसैको उम्मेदवारी नपरेपछि कांग्रेस उम्मेदवार लामा निर्विरोध भएको नारफूस्थित निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए ।

नारफूका १ देखि ५ सबै वडाका उम्मेदवार निर्विरोध भएका छन् । वडा १ देखि ३ सम्म कांग्रेस तथा ४ र ५ मा स्वतन्त्र उम्मेदवार निर्विरोध भएको सहायक निर्वाचन अधिकृत किरण पौडेलले बताए ।

उपाध्यक्षमा भने कांग्रेसबाट फुर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उम्मेदवारी दिएका हुन् । यस्तै, गोरखाको हिमालपारिका चुमनुब्री गाउँपालिकामा पनि ३ वडाका अध्यक्षसहित १५ सदस्य निर्विरोध भएका छन् । ५ दलित सदस्य पदमा भने उम्मेदवारी नै परेको छैन ।

चुमनुब्री–१ मा कांग्रेसका वीरबहादुर गुरुङ वडाध्यक्षमा निर्विरोध भए । वडा सदस्यमा कांग्रेसका निमा दोर्जे र एमालेका निङमार छिरिङ लामा र महिला सदस्यमा माओवादी केन्द्रकी निमा छिरिङ निर्विरोध भए । चुमनुब्री–२ को वडाध्यक्षमा कांग्रेसका पेम्बा रेता, सदस्यमा कांग्रेसकै छेवाङ लामा, महिला सदस्यमा माओवादीका पेम्पा छिरिङ लामा र दलित सदस्यमा लाक्पा ढिकी विकको मात्रै उम्मेदवारी परेको छ । वडा नं. ५ मा कांग्रेसका सोनाम ग्याल्जेन गुरुङ निर्विरोध भए भने सदस्यमा माओवादीका कुसाङ डुन्डुप र कांग्रेसका कालिङ छेवाङ मात्र उम्मेदवार छन् । दलित कोटामा उम्मेदवारी परेन ।

उक्त गाउँपालिकाका ७ वडामा प्रमुख र उपप्रमुखसहित ३७ पदका लागि निर्वाचन हुनुपर्नेमा ३ वटा वडाका १५ पदमा एकल उम्मेदवारी परेकाले अब १७ पदका लागि मात्रै चुनाव हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्मागाउँको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मणिचन्द रोकाया निर्विरोध भएका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका अजवीर रोकाया, दलित सदस्यमा छ्याउकला विक, एमालेबाट सदस्यमा सिंह बुढा र महिला सदस्यमा बुद्धकला रोकाया छानिने भएका छन् । तीन प्रमुख पार्टीको सहमतिमा निर्विरोध रूपमा वडाका पदाधिकारी चयन गरिएको माओवादी केन्द्रका संयोजक केबल मल्लले जानकारी दिए ।

यसैगरी म्याग्दी– रघुगंगा गाउँपालिकाको ४ नम्बर वडामा कांग्रेसका एकबहादुर गर्बुजाको मात्र उम्मेदवारी परेको छ ।

LEAVE A REPLY