पोखरा, १९ कात्तिक l वानियाँ बन्धु कुलपूजा समिति लामाचौरमा ८० वर्ष नाघेका बृद्धबृद्धालाई सम्मान गरेको छ । समितिले सुरथबहादुर वानियाँ, इन्द्रबहादुर वानियाँ, प्रेमबहादुर वानियाँ, रुद्रबहादुर वानियाँ, जयदेवी वानियाँ, चन्द्रबहादुर वानियाँ र प्रेमकुमारी वानियाँलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । समितिले पूर्व अध्यक्ष शेरबहादुर वानियाँ, समितिमा रचनात्मक भूमिका निभाएको भन्दै राजेन्द्रबहादुर वानियाँ र प्रेमबहादुर वानियाँलाई सम्मान गरिएको समितिका सदस्य दीपेन्द्र वानियाँले जानकारी दिए ।
समितिका अध्यक्ष नीरबहादुर वानियाँको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि वानियाँ बन्धु समाजका अध्यक्ष डम्वरबहादुर वानियाँले कास्की जिल्लाका वानियाँ बन्धुको एकतामा जोड दिए । स्वस्थ्य अधिकृत समेत रहेका वानियाँले संस्कार र संस्कृति बचाउन आपसी मेलमिलाप, धैर्यता र समाज प्रतिको चिन्तन आवश्यक भएको बताए । सम्मान कार्यक्रममा वोल्दै भूपू अध्यक्ष शेरबहादुर वानियाँले ज्येष्ठ नागरिकबाट युवा पुस्ताले ज्ञान सिक्न आग्रह गर्दै सम्मानित व्यक्तित्वलाई आफ्नो अनुभव बाढ्न अनुरोध गरे ।
कार्यक्रममा वोल्दै समाजसेवी नेत्रबहादुर वानियाँले जुम्लाको सिञ्जाबाट कास्की वसोवास गर्दै आएका वानियाँ बन्धुको चिनारी र संरक्षणमा जोड दिए । भेलामा समितिका सचिव राजेन्द्रबहादुर वानियाँले सचिवको प्रतिवेदन र कोषाध्यक्ष एकबहादुर वानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जाल्पादेवी सामूदायिक महिला विकास समितिकी अध्यक्ष सुनिता वानियाँले स्वागत मन्तव्य व्यक्त गर्दै महिला अधिकार र वानियाँ समाजले गर्नुपर्ने नेतृत्वदायी भूमिकाको चर्चा गरेकी थिइन् ।
सम्मान तथा वानियाँ बन्धु भेलाले समितिको अध्यक्षमा सु.हरिबहादुर वानियाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्ष पछि चयन गर्नेगरी सचिवमा शिवबहादुर वानियाँ, कोषाध्यक्षमा ज्ञानबहादुर वानियाँ र सदस्यमा प्रेमबहादुर वानियाँ(गोपाल), बद्रीबहादुर वानियाँ, जीतबहादुर वानियाँ, रेशमबहादुर वानियाँ, देवेन्द्रबहादुर वानियाँ, शोभा वानियाँ, विष्णुमाया वानियाँ, वर्षा वानियाँ, मन्जु वानियाँ र पदेन सदस्यमा जाल्पादेवी सामूदायिक महिला विकास समितिकी अध्यक्ष सुनिता वानियाँ सर्वसम्मत निर्वाचित भएको समितिका सदस्य दीपेन्द्र वानियाँले जानकारी दिए ।

LEAVE A REPLY