काठमाडौं, कात्तिक १६ l केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपा एमाले प्रवेश गर्नुभएकी कोमल वलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै हुनुहुन्छ ।नेकपा एमालेले कोमल वलीले प्रतिनिधिसभातर्फ दाङको क्षेज्ञ नम्बर तीनबाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । पार्टीले टिकट दिनेमा आफू ढुक्क रहे पनि पछिल्लो समयमा आएर पार्टीले धोका दिएको कोमल वलीले आरोप लगाउनुभयो । उज्यालो अनलाइनसँग कुरा गर्दै वलीले भन्नुभयो, ‘अन्तिममा आएर शंकर पोखरेलले मैले सकिन भन्नुभयो । उहाँले माथिबाट निकै प्रेसर आयो मैले थेग्न सकिन, तपाईँ के गर्ने हो विचार गर्नुहोस् भन्नुभयो ।’

पार्टीले आफूलाई कहिले समानुपातिकमा त कहिले प्रत्यक्षमा उठाउने भन्दै प्रतिवद्धता व्यक्त गरे पनि आफूले नेताका घर नचाहरेकै कारण टिकट नपाएको वलीले जानकारी दिनुभयो । पार्टीको चुनावी प्रचार–प्रसारमा कात्तिक २९ गतेद्खि नै दाङमा रहेकी वलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत उम्मेदवार बनाउने आश्वासन दिएको कोमल वलीले बताउनुभयो । एमालेबाट टिकट नपाए पनि आफू निराश नभएको बताउँदै वलीले भन्नुभयो, ‘अध्यक्ष ओलीले पनि तपाईँलाई समानुपातिकमा उठाउने कि प्रत्यक्षमा त्यो मेरो जिम्मा भयो । तपाईँ ढुक्क हुनुहोस् भनेपछि म दाङ आएकी थिएँ ।’

लामो समय रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेकी कोमल वलीले राष्ट्रवादी पार्टी भएकाले एमाले प्रवेश गरेको बताउनुभएको थियो । आफूले चुनावै नजिते पनि स्वतन्त्र उम्मेदवारी दिने बताउँदै उहाँले भन्नुभयो, ‘सबैथोक छाडेर राजनीतिमा आएँ । म हरेस खाने छैन । म राजनीतिमै समर्पित हुनका लागि रेडियो नेपालको जागिर छोडेँ । एमाले त इमान्दार पार्टी हो जस्तो लाग्थ्यो, यहाँ पनि नातावाद चल्दो रैछ ।’

LEAVE A REPLY