लमजुङ, वैशाख १४ – लमजुङको क्व्होलासोँथर गाउँपालिका–९ का ८० वर्षे चन्द्रध्वज गुरुङलाई यसअघिका चुनावमा धेरै नेतालाई भोट हालेको अनि जिताएको अनुभव अझै ताजा छ । चुनावको बेला भोट माग्न मात्रै गाउँ झुल्कने, गाउँका सोझासाझा नागरिकलाई विकासका अनेकन सपना देखाउने, भोट आफ्नो पक्षमा पार्ने र चुनाव जितेपछि गाउँ र नागरिकलाई फर्केर नहेर्ने राजनीतिक दलका नेताका प्रवृत्तिदेखि उहाँ ‘वाक्क’ हुनुहुन्छ । निराशा भावमा उहाँले भन्नुभयो, ‘नेताहरुले हामीलाई धेरै झुक्याएका छन्, धोका दिएका छन्, जुनै पार्टीका जुनै नेतालाई जिताए पनि उनीहरुले गाउँ र नागरिकलाई फर्केर हेरेका छैनन् ।’

वैशाख ३१ गते स्थानीय तहको चुनाव हुँदैछ भन्ने कुरामा उहाँ जानकार हुनुहुन्छ । विगतमा नेताहरुले आफूहरुलाई धोका दिएको बताउँदै उहाँले यसपालाको चुनावमा विचार गरेर भोट हाल्ने पक्षमा आफू रहेको सुनाउनुभयो । ‘विचार गरेरै विकास गर्न सक्ने, असल उम्मेद्वारलाई भोट हालिन्छ यसपाली’, उहाँले भन्नुभयो ।

लामो समयको अन्तरालमा हुन लागेको चुनावको खबरले गिलुङकै ६३ वर्षीया खुशीमाया गुरुङलाई पनि खुशी तुल्याएको छ । ‘लामो समयपछि चुनाव हुँदैछ, मनमा जोस् पलाएको छ,’ गुरुङ भेषमा सजिनुभएकी खुशीमायाले खुशी हुँदै भन्नुभयो ‘हिजो जेजे भएभए, अबको चुनावमा जनतालाई देखाएका सपना पुरा गर्नेलाई भोट हालिन्छ, जिताइन्छ ।’

तर चुनाव नजिकिँदै जाँदा गिलुङकै ७० वर्षकी विष्णुमाया गुरुङलाई भने कुनै उत्साह छैन । ‘जुनै नेतालाई जिताएपनि हामीलाई के भयो र ! नेतालाई भोट र कुर्सी पाए भयो, हामी नागरिकको दुःख हामीसँगै’, उहाँले भन्नुभयो, ‘तर भोट त हाल्नुपर्‍यो हाम्रो अधिकार हो, यसपटक सबै जनतालाई समान व्यवहार गर्ने, असल उम्मेद्वारलाई भोट हाल्छौँ ।’

गाउँमा छिट्टै बिजुली ल्याउन सघाउने उम्मेद्वारलाई भोट हाल्ने पक्षमा हुनुहुन्छ, गिलुङकी ६० वर्षे  फूलमाया गुरुङ पनि । गिलुङमा अझै बिजुली पुगेको छैन । बिजुलीको पोल मात्रै गाडेर छोडिएको छ । प्रायः सबै घरमा सोलार जडान गरिएको छ । स्थानीय अनुसार यसै आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरण मार्फत विद्युत विस्तार हुनेगरी प्रकृया समेत अगाडि बढाईएकाले छिट्टै गाउँमा विजुली पुग्नेमा गाउँ बासिन्दा विश्वस्त छन् ।

साबिक गिलुङ–६ की ६५ वर्षकी शोभा गुरुङ पनि दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने, गाउँको विकासमा हातेमालो गर्ने असल उम्मेदवारलाई भोट हाल्ने पक्षमा हुनुहुन्छ । ‘असल, विकासप्रेमी उम्मेद्वार भएमा जुनै पार्टीको उम्मेद्वार भएपनि भोट हाल्छु,’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY