पोखरा, २२ कात्तिक l रोटरी क्लब अफ पोखरा लेकसाइडले हिमालपारीको जिल्ला मुस्ताङमा स्वास्थ्य शिविर गरेको छ । थासाङ गाउँपालिका १, टुकुचेमा भएको शिविरमा २ सय ६ जना लाभान्वित भएको क्लबका सर्भिस एरिया प्रोजेक्ट चेयरमेन अर्जुन खनालले जानकारी दिए । ल्याब सुविधासहित योगेन्द्र मावि, टुकुचेमा भएको उक्त शिविरमा किड्नी, ब्लड प्रेसर, सुगर, हाडजोर्नी रोग परीक्षण गरिएको हो ।

चरक मेमोरियल अस्पताल, पोखराको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा क्लब सदस्य समेत रहेका अस्पतालका अध्यक्ष डा. बद्री पौडेलको नेतृत्वमा ६ जना चिकित्सक, नर्स, प्राविधिक गरी २१ जनाको टोली खटिएको थियो ।

शिविरको कार्यक्रम संयोजक समेत डा. पौडेलले भौगोलिक दृष्टिकोले विभिन्न असुविधा रहेको मुस्ताङको एक गाउँमा आएर शिविरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा थासाङ गाउँपालिका वडा १ का अध्यक्ष इन्द्र ज्वारचन, स्थानीय स्वास्थ्य चौकीका प्रमुख, विद्यालयका प्रअ लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, क्लबले जोमसोम र कागवेनीका विपन्न वर्गका बालबालिका तथा वृद्धवृद्धाको हितको निम्ति न्यानो कपडा वितरण गरेको क्लबका सर्जेन्ट एट आर्म मोहनसिंह खड्काले जनाए । क्लब उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक घराना थकालीको संयोजकत्वमा मुस्ताङ रेडक्रसमार्फत क्लबले ३२ थान कम्मल र ३२ थान सिरक वितरण गरिएको हो ।

यस्तै, क्लबको टूर प्रोगामअन्तर्गत पोखरादेखि मुस्ताङको स्याउबारी, जोमसोम, मुक्तिनाथ, तातोपानी लगायत विभिन्न सांस्कृतिक, धार्मिक तथा प्राकृतिक दृश्यको अवलोकन गरी त्यसबारे जानकारी लिइएको थियो । टूरको संयोजन डिल्लीश्वर दाहालले गरेका थिए । चार कात्तिक १७ मा सुरु चार दिने उक्त टूरमा रोटरी क्लब पोखरा लेकसाइडका सदस्य, रोट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडका सदस्य, चिकित्सक र प्राविधिक गरी कुल ४० जनाको सहभागिता थियो ।

LEAVE A REPLY