वैशाख २०, २०७४- व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल राष्ट्र बैंकको थापाथली र बालुवाटारस्थित भवन बिक्री गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न र भइसकेको भए त्यसको जानकारी दिन निर्देशन दिएको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार राष्ट्र बैंकका गभर्नरलाई पत्र लेख्दै बैंक भवन बिक्री भएको भए त्यसबारे जानकारी गराउन आग्रह गरेका हुन् । बैंकका सामान्य प्रशासन पदाधिकारीले भने मंगलबारसम्म लेखा समितिको निर्देशन पत्रबारे कुनै जानकारी नआएको बताए ।

सम्बन्धित निकायसँग समन्वय र कार्यादेशबिना आफूखुसी भत्काउन एवं बिक्री गर्न थालिए उपत्यकाका पुरातात्त्विक भवन केही वर्षमै सकिने भन्दै लेखा समितिले यस्ता सम्पदा सुरक्षाबारे विशेष छलफल आयोजना गर्ने जानकारीसमेत गराएको छ ।

राष्ट्र बैंक सेवा विभागका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले थापाथली र बालुवाटारका दुवै भवन पूरै भग्नावशेष भइसकेको र रेट्रोफिटिङ (प्रबलीकरण) गर्ने अवस्थासमेत नरहेकाले सरकारद्वारा भवन भत्काउने निर्णय भएको जानकारी दिए ।

‘हामी त समन्वयकारी निकाय मात्रै हौं,’ पोखरेलले भने, ‘यी भवन भत्काउने र बिक्री गर्ने निर्णय नेपाल सरकारले गरेको हो ।’ सरकार स्वयंले गरेको निर्णयमा संसदीय समितिले विरोधाभास उब्जने निर्देशन दिनु आश्चर्य रहेको उनले प्रतिक्रिया दिए ।

पोखरेलका अनुसार बालुवाटारस्थित बैंकको केन्द्रीय भवन (ललिता निवास) र थापाथालीको बैंकिङ कार्यालय भवनको संरचना भत्काउने र यसभित्रको ‘अत्यावश्यक तथा पुरातात्त्विक चिजबाहेक’ सामग्री (ढुंगामाटो, इँटा, झ्यालढोका आदि) झन्डै ८ करोड रुपैयाँमा बिक्री गर्ने निर्णय भइसकेको छ ।

‘यो प्रक्रिया अघि बढाउन कार्यादेश जारी भइसकेको छ,’ उनले भने । यी भग्न भवन भत्काउँदा लाग्ने सबै शुल्कबाहेक ८ करोड रुपैयाँ बैंकको खातामा दाखिला हुने सर्त मान्य भइसकेको उनले बताए ।

ठेकेदारसँगको सम्झौताअनुसार भवन भत्काउने र सामान उठाइसक्ने अवधि यही असारभित्र तोकिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बैंक भवन बिक्री गर्न बोलपत्र आहवान र ठेकेदार चयन गरेको हो ।

‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक भवनजस्ता पुरातात्त्विक महत्त्वका भवन नभत्काउन गरेको अनुरोधबारे हामी सचेत छौं,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘तर राष्ट्र बैंकको भग्न भइसकेका भवनलाई सिंहदरबार वा शीतल निवाससँग एउटै ‘बास्केट’ मा हाल्न मिल्दैन ।’

यसअघि गत चैत ४ गते प्राधिकरणले जारी गरेको सूचनामा ऐतिहासिक महत्त्वका दरबार र सम्पदाजन्य कुनै पनि भवनलाई भत्काउन नपाइने भन्दै आउँदो वर्षा मौसममा यस्ता भवन थप क्षतिमा नपार्न आवश्यक सुरक्षा/संवद्र्धन उपाय अपनाउन आग्रह गरिएको थियो ।

विशेषत: सिंहदरबार, संसद्भवन, श्रीमहल, बबरमहल, केशरमहल, बाल मन्दिर, हरिहर भवन, राष्ट्र बैंक भवन (बालुवाटार र थापाथली) को सम्पदाजन्य संरचना भत्काउन नपाइने भनेर प्राधिकारणले सूचना जारी गरेको थियो । तर, त्यो सूचनासँगै सहरी विकास मन्त्रालयले राष्ट्र बैंकका थापाथाली र बालुवाटार भवन भत्काउन बोलपत्र आह्वान गर्दै प्रक्रिया अघि बढाएको थियो ।

लेखा समितिकाे पत्र

LEAVE A REPLY