रामेछाप, असोज ६ । रामेछापको रामेछाप नगरपालिका वडा नम्बर–८ बितिटारस्थित सानाबारी पाखामा शुक्रबार बिहान भएको यात्रीबहाक बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

रामेछाप बजारबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६३७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा बझाङ जिल्ला राय गाउँपालिकाकी २५ वर्षीया उमा खड्का, रामेछाप नगरपालिका वडा नम्बर–८ भंगेरीका ५५ वर्षीय दीपक श्रेष्ठ र रामेछाप नगरपालिका वडा नम्बर–७ सुकाजोर धापकी २७ वर्षीया बालकुमारी बस्नेत छन् ।

मृतक तीनजनामध्ये दीपकको उपचारकाक्रममा तामाकोसी सहकारी अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएको उक्त बस मोडमा अनियन्त्रित भइ सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बस सडकबाट करिब ४० मिटर तल खसेको छ ।

LEAVE A REPLY