पोखरा , २ बैशाख । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय चाउथेले नयाँवर्षको शुभारम्भसँगै चाउथेको मझेरीपाटनमा राजयोग भवनको शिलान्यास कार्यक्रम एक भव्य समारोहका विच सम्पन्न गरेको छ ।
पाटन उच्च अदालतका माननीय न्यायाधिश शान्ति सिंह थापाले कार्यक्रम उद्घाटन गर्दै भन्नुभयो समाजमा थुप्रै सामाजिक विकृतिहरु बढिरहेको हुँदा नव निर्माण हुन लागेको यस राजयोग भवनले जन जनमा नैतिक शिक्षाको ज्योति फैल्याउने एक प्रकाश स्तम्भको काम गर्नेछ । परिवार र समाजमा समस्याहरु सिर्जना भएर समाधानमा संकल्प र शक्ति व्यय गर्नभन्दा समस्याहरु नै उत्पत्ति हुन नदिने यो एउटा सुन्दर प्रयास हो ।

ब्रह्माकुमारीज नेपालकी निर्देशक राजयोगिनी परिणीता दिदीले भन्नुभयो –सबै बाहिरी भौतिक साधन र सुविधाले सम्पन्न भएर पनि सच्चा आन्तरिक सुख र शान्तिबाट मानिसहरु विमुख हुँदै गइरहेको आजको अवस्थामा यस आध्यात्मिक गिता ज्ञान र प्राचिन राजयोग सम्प्रेशित गर्ने स्थानले जन–जनलाई स्थायि शान्ति र सुख दिएर अन्तरमनलाई राहत दिने तिर्थस्थलको कार्य गर्नेछ । स्व परिवर्तनबाट नै विश्व परिवर्तन अवश्य हुने भएकोले समाज र राष्ट्रमा शान्ति स्थापनाका लागि र मनलाई चार्ज गरी मनोविकृतीहरुलाई नष्ट गर्न यस राजयोग भवनले एउटा चार्जरभवनको पनि काम गर्नेछ । ब्रह्माकुमारीज धालागिरी क्षेत्रकी प्रमुख राजयोगिनी सावित्री दिदीले जहाँ हाम्रो धन हुन्छ त्यहा हाम्रो मन अवश्य पूग्छ र यस्तो मानवलाई देवता बनाउने यस्तो परमात्माको महत्वपूर्ण कार्यमा हामी सहभागी भएर आफ्नो जीवनलाई अनमोल बनाउनुपर्छ ।

भवन निर्माण समितिका अध्यक्ष समाजसेवी भिमसेन थापाले धर्म भनेको अनुशासनको पाठ सिकाउने एउटा माध्यम हो, धर्मलाई कर्मको रुप दिन सक्ने त्यक्ति नै समाजमा सम्माननीय र उदाहरणीय बन्न सक्छ भन्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेलले वर्तमान समयमा आध्यात्मिक रुपले सक्रिय भएको व्यक्तिको आवश्यकता राष्ट्रलाई छ र परोपकारी पत्रकारीतामा जुट्न पनि सबै पत्रकार पर्गलाई अनुरोध गर्नुभयो ।

स्वागत मन्तव्य दिदैँ ब्रह्माकुमारीज चाउथेकी सन्चालीका बिमलाले भन्नुभयो जीवनमा सबैभन्दा ठुलो कुरा मनको शान्ति र सन्तुष्टी हो जसलाई पैसाले किन्न सकिँदैन भने यसको प्राप्ति हुन्छ केबल आत्मा चिन्तन र परमात्मा चिन्तनबाट । यदि हामीले परमात्मा ज्ञानलाई बुद्धिमा उदय गराउन सकियो भने हर परिस्थिति र विघ्नहरुलाई सहजै पार गर्न सकिन्छ र निर्माण हुन लागेको यस भवनले जन जनमा परमात्मा ज्ञानको उदय गराउन निमित्त स्थान बन्नेछ भन्ने कुरा पनि दिदीले आफ्नो मन्तव्यमा बताउनुभयो ।

ब्रह्माकुमारीज नेपालका महासचिव राजयोगी शैलेषराज बरालले भन्नुभयो –ब्रह्माकुमारीज संस्थालाई विगत ८ दशकदेखि परमात्माले एउटा अभियानको रुपमा चलाइरहनुभएको छ जहाँ हामी सबैले आ–आफ्नो तहबाट शुभभावना, योगदान दिइरहेका छौं । यो भवन सबै अज्ञान अन्धकारलाइ मेटाउने, सबै मनको प्यास बुझाउने एक उर्जाघर बन्नेछ । समाजसेवाको यस पुनित कार्यलाई सम्पन्नता दिलाउन हामी हरेकले आफुलाई जिम्मेवार सम्झनुपर्नेछ भन्ने कुरामा उहाँले जोड दिनुभयो ।

संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा उपहमानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, वरिष्ठ डाक्टर कालु शर्मा, राजयोगिनी शोभा दिदी, राजयोग प्रशिक्षीका ब्रह्माकुमारी अप्सरा दिदी, ब्रह्माकुमारी बिष्णु दिदी, ब्रह्माकुमारी राधिका दिदी, ब्रह्माकुमारी सुधा दिदी , भवन निर्माण समितिका अध्यक्ष समाजसेवी भिमसेन थापा लगायतले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

भवन निर्माणको लागि जग्गा दान गर्ने चाउथे निवासी सुश्री हिरा थापालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यस ज्ञान योगबाट लाभ लिइरहेका एवं लाभ लिन इच्छुक आध्यात्मप्रेमी व्यक्तिहरुको मात्र आर्थिक सहयोग स्विकार हुने संस्थाको नियम अनुरुप नै कार्यक्रम अवधीमा भवन निर्माणार्थ करिब ४ लाख रकम उठेको थियो भने १४०० इस्क्यायर फिटको ढाँचामा निर्माण भएको योजनाको अनुमानित लागत ७० लाख रहेको छ ।

स्थानीय जन समुदाय एवं पोखरा, दमौली, दुलेगौंडा एवं विभीन्न स्थानबाट आएका संस्थाका नियमित राजयोगी साधकहरु गरी करिब ५०० जना को उपस्थिती रहेको उक्त कार्यक्रमको सन्चालन ब्रह्माकुमार शंकर देवकोटाले गरेका थिए भने कार्यक्रममा आकर्षक नृत्यहरु र कर्मको फल नामक सन्देशमुलक एक रोचक नाटक पनि प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY