काठमाडौं, साउन २२ l संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलगातय आफूले उठाएको माग पूरा नभएसम्म चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा राजपाभित्र विवाद भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरु संशोधन अघि चुनावमा जाने कि नजाने भन्ने विषयमा विभाजित भएका हुन् ।बैठकमा अध्यक्ष महन्थ ठाकुरले पेश गरेको एक पृष्ठको प्रतिवेदनमा ‘यथास्थितमा चुनावमा नजाने’ उल्लेख भए पनि बैठकमा धारणा राख्ने नेताहरुले अब पनि संशोधनको पछि लागेर अल्झिन नहुने बताएका हुन् । पछिल्लो समय पार्टी गतिविधिप्रति असन्तुष्ट नेताहरु हृदेश त्रिपाठी, सर्वेन्द्रनाथले चुनावमा भाग लिनुपर्ने धारणा राखेका छन् । शुक्रबारसम्म तीन दिन चलेको पदाधिकारी बैठकमा सहभागी नभएर आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएका त्रिपाठी र सुक्लाले दोस्रो चरणको चुनावमा सहभागी नहुनको कारण नेतृत्वले बैठकमा दिन माग गर्नुभएको थियो ।

बैठकमा त्रिपाठीले भन्नुभयो, ‘चुनाव बहिस्कार गर्ने भनेर अन्तिम समयमा घोषणा गरियो । जसले बहिस्कारको कार्यक्रम प्रभावकारी बन्न सकेन भने अर्कोतर्फ हामीले चुनावमा गएर जित्ने ठाउँसमेत गुम्यो । एउटा पार्टी दर्ता गर्न किन धेरै समय लाग्यो ? यी समग्र विषयमा नेतृत्वले जवाफ दिनुपर्छ ।’ चुनावमा भाग नलिए नागरिकको विश्वास र जिल्ला तहको पार्टी संगठन विघटन हुने सक्ने चेतावनी दिनुभएको एक नेताले जानकारी दिनुभयो ।

पदाधिकारीे बैठकमा बोलेका ९१ मध्ये ४३ जनाले चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए । त्रिपाठीले चुनावमा पनि नजाने बहिस्कारलाई पनि प्रभावकारी नबनाउँदा कार्यकर्ताको मनोबल गिरेर पलायन हुने क्रम सुरु भएको बताउनुभयो ।

उहाँले नेतृत्वको कमजोरीका कारण मधेस आन्दोलन गोलचक्करमा फसेको उल्लेख गर्नुभयो । त्रिपाठी र शुक्लाले २ नम्बर प्रदेशको चुनावबारे बेलैमा निर्णय गर्नसमेत नेतृत्वलाई सुझाव दिनुभयो । तीन दिनसम्म चल्ने बैठकमा आठ सय १५ जना केन्द्रीय सदस्यको सहभागीता छ । बैठकमा संविधान संशोधन नभएसम्म चुनावमा सहभागी हुन नहुनेबारे पनि बलियो रुपमा आवाज उठेको छ । अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादवल, अनिल झालगायतका नेताले माग पूरा नभएसम्म चुनावमा जान नहुने धारणा राख्नुभयो । चुनावमा नगएर केही कार्यकर्ता तितरवितर भए पनि एजेण्डा बचेकोले आत्तिनु नपर्ने महतोको भनाइ थियो ।

महामन्त्री जितेन्द्र सोनलले चुनावमा सहभागी हुने कि नहुने भन्नबारे पार्टीमा दुई धार रहेको स्वीकार गर्नुभयो । उज्यालो अनलाइनसँग कुरा गर्दै सोनलले भन्नुभयो, ‘चुनावमा सहभागी हुने कि नहुने भन्ने दुवै विषयमा नेताहरुको धारणा आएको छ । यो विषयलाई केन्द्रीय समितिको बैठकले टुंगो लगाउँछ ।’

@Ujyaaloonline.com

LEAVE A REPLY