जनकपुरधाम, साउन ३ – अवैध निजी विद्यालयलाई कारबाही गरेको भन्दै धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई एक नायव सुब्बाले कार्यालयमै चप्पलले कुटेका छन् ।विद्यालय प्रशासन फाँटमा कार्यरत नायव सुब्बा अनिल कुमार रायले सहायक शिक्षा अधिकारी मेहिलाल यादवलाई उहाँकै कार्यकक्षमा मंगलबार गालीगलौज गर्दै झापड र चप्पलले कुटपिट गरेको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।

बिना दर्ता सञ्चालनमा रहेको विद्यालयलाई किन कारबाहीका लागि पत्र काटेको भन्दै नासु राय सहायक शिक्षा अधिकारी यादवमाथि जाइलागेको एक कर्मचारीले नाम नखोल्ने सर्तमा बताए ।
दर्ता नभई अवैध सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई नियन्त्रण गर्न सहायक जिशिअ यादवको संयोजकत्वमा सात सदस्यीय टोली गठन भएको छ । टोलीले असार २५ गतेदेखि जनकपुर नगरक्षेत्रका विभिन्न विद्यालयहरुमा अनुगमन गरिरहेको छ । टोलीले आइतबार सम्ममा ३३ वटा निजी विद्यालयहरुमा अनुगमन दर्ता नभएको र कुनै पूर्वाधार नभई सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन समेत दिएको छ ।
अवैध विद्यालय सञ्चालनमा जिशिकाका कर्मचारीहरुको मिलोमतो रहेको आशयको प्रतिवेदन टोलीले तयार गर्ने थाहा पाएपछि कार्यालयका नासु खन्निएका हुन् । केहि अवैध रुपमा सञ्चालित विद्यालयको विषयलाई लिएर नासु राय र जिशिअ यादवबिच कार्यालयमै भनाभन भएपछि यो घटना भएको हो ।
सहायक शिक्षा अधिकारी यादवले आफू अवैध निजी विद्यालयलाई कारबाही र जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो र कर्मचारीहरुको मिलेमतोमा भइरहेको भ्रष्टाचार रोक्न खोज्दा आफूमाथि विभिन्न षड्यन्त्र भइरहेको दुखेसो पोख्नुभयो ।
यस घटनाको विषयमा मंगलबार जिल्ला शिक्षा कार्यालयमा कर्मचारीहरुको बैठक भएको छ । दुई कर्मचारीहरुको भनाभन पश्चात घटना भएको तर आफू कार्यालय भन्दा बाहिर रहेकाले वास्तविक कुरा थाहा नभएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोको भनाई छ ।  घटनाको विषयमा दुवै कर्मचारीसँग स्पष्टीकरण सोधेको र दोषी ठहरिएकालाई कारबाही गरिने  उहाँले बताउनुभयो । @Ujyaaloonline.com

LEAVE A REPLY