सिनेमा र सिरियलमा सुहाएका र दर्शकले मन पराएका जोडीहरुको माग विज्ञापनमा पनि अत्यधिक हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हो दीपक राज गिरी र दीपाश्री निरौलाको जोडी ।

यी दुईले सिरियल ‘तीतो सत्य’मा काम गरेपछि विभिन्न ब्राण्डका विज्ञापनमा काम गर्ने अवसर पाए । दशक अघिदेखि सुरु भएको यो क्रम अहिले पनि उस्तै छ । अहिले पनि नेपालमा चलेका विभिन्न ब्राण्डहरुको प्रमोशनको लािग बनाइएका विज्ञापनमा उनीहरुको जोडी देखिन्छ । सिरियल र विभिन्न विज्ञापनमा श्रीमान श्रीमतीको भूमिकामा देखिएपछि धेरैलाई उनीहरु वास्तविक श्रीमान श्रीमती हुन् भन्ने पनि भयो ।

तर वास्तविकता भने दीपक र दीपा श्रीमान् श्रीमती नभएर एकअर्का बिना अधुरो रहने साथी हुन् । यी दुईको सहकार्य साँच्चै नै लोभ लाग्दो छ । तर केही ब्राण्डहरुको लागि वास्तविक जोडीको पनि माग भएको पाइन्छ । नेपालमा चलेका केही कलाकारका जोडीले विभिन ब्राण्डका विज्ञापनहरुमा काम गरेका छन् । आज हामीले त्यस बारेमा एक सामाग्री तयार पारेका छौँ ।

राजेश हमाल र मधु भट्टराई

अभिनेता राजेश हमालकी श्रीमती मधु भट्टराईलाई अभिनयमा खासै रहर लाग्दैन । उनी यसमा आफ्नो रुचि नभएको बताउँछिन् । तर उनले श्रीमान राजेश हमालसँग एउटा विज्ञापनमा अभिनय गरेकी छिन् । राजेश र मधुले घरेलु प्रयोजनको विज्ञापनमा पर्दा बाँडेका छन् ।

युनिलिभर नेपालले उत्पादन गरेको ह्विल ओके साबुनको विज्ञापनमा यो जोडी एक साथ देखिएको  हो । मधुले यही विज्ञापनमार्फत कुनै उत्पादनको विज्ञापनमा पहिलो पटक काम गरेकी हुन् । मधुले अभिनयमा रुचि नहुँदा नहुँदै पनि आफू जस्तै गृहणीले प्रयोग गर्ने वस्तु भएकाले ह्विल ओके साबुनको विज्ञापनमा काम गरेको बताएकी थिईन् । राजेश हमाल भने सिनेमासँगै विज्ञापनका पनि महानायक हुन् ।  उनले नेपा टप,  हिमाल स्टिल, रियल जुस,  सेयर एण्ड इन्भेस्टमेन्ट, च्यवनप्रास लगायतका विज्ञापनहरुमा काम गरेका छन् ।

जितु नेपाल र मुना राउत नेपाल

नेपाली हाँस्यव्यंग्य क्षेत्रमा राम्रो विषयवस्तु छनौट गरेर कमेडी प्रस्तुतिहरु प्रस्तुत गर्ने  कलाकारमा पर्छन् जितु । हाँस्यव्यङ्ग्यमा सफल जितुकी श्रीमती मुना राउत नेपाल काठमाण्डौ महानगरपालिकाकी कर्मचारी हुन् ।

घर र अफिस सम्हालेर अघि बढेकी मुनाले श्रीमान जितुसँग केही विज्ञापनहरुमा काम गरेकी छिन् । जितु र मुनाले हलेसी डेकोर, अल्पाइन मिट र सोना चामलको विज्ञापनमा  काम गरेका छन् । पछिल्लो समय सिरियल जिरे खुर्सानी बन्द भएपछि जितु स्टेज कार्यक्रम र सिनेमाको काममा व्यस्त छन् ।

यतिबेला उनी सिनेमा ‘छक्का पञ्जा २’ को प्रमोशनमा छन् भने केही दिनमै उनी अमेरिकामा सम्पन्न हुन लागेको नेपाली ग्लोबल अवार्डको लागि अमेरिका उड्दैछन् ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे

सिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएको जोडी हो सीताराम कट्टेल उर्फ धुर्मुस र कुञ्जना घिमिरे उर्फ सुन्तलीको । पछिल्लो समय कलाकारितासँगै सामाजिक कामका कारण चर्चामा आएको यो जोडीको माग विभिन्न ब्राण्डको  विज्ञापनका लागि भइरहेको छ ।

 कलाकारिता र सामाजिक कामका कारण पाएको लोकप्रियताले नै यो जोडी विज्ञापनमा पनि छाइरहेको हो ।  यी दुईले रन सुज, सामे ट्रयाक्टर, पोशाक पेलेट दाना, बैंक अफ काठमाण्डु, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड  ईन्स्युरेन्स (बीमा कम्पनी)सँगै मोबाइल र घरायसी विद्युतीय सामाग्रीका विभिन्न ब्राण्डमा काम गरेका छन् ।

२०७२ सालको भुकम्पपछि घरबारबिहिन भएकाहरुलाई काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा एकिकृत नमुना बस्ती,  बर्दिबासको मुसहर बस्ती निर्माण र हस्तान्तरण गरेपछि धुर्मुस सुन्तली यतिबेला नमुना नेपाल बनाउने तयारीमा जुटेका छन् ।

केदार घिमिरे र सीता घिमिरे

हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा र उनकी श्रीमती सीता घिमिरेले पनि एक विज्ञापनमा पर्दा बाँडेका छन् ।  नयाँ बसपार्कमा रहेको कान्तिपूर मलको विज्ञापनमा केदार र सीताले एक साथ काम गर्ने मौका पाएका हुन् ।  पछिल्लो समयमा केदारसँगै सीता पनि कलाकारितामा सक्रिय भएकी छिन् ।

मेरी बास्सैमा माग्ने बुढाको दोस्रो श्रीमती भएर अभिनय गरेकी सीता यति बेला माग्ने बुढाकै सिरियल ‘खासखुस’ मा सीताको भूमिकामा छिन् । यस सिरियलबाट उनको  ‘ए उल्का अचम्म’ भन्ने थेगो चर्चित भएको छ । त्यस्तै सीता विभिन्न ठाउँमा आयोजना भएका स्टेज शोहरुमा पनि हिँड्न थालेकी छिन् ।  गत वर्ष डिप्रेशनमा गएका केदार अहिले भने पूर्ण रुपमा ठीक भएर सिनेमा ‘छकका पञ्जा २’ को प्रमोशनमा जुटेका छन् ।

उषा खड्गी र जि पि तिमिल्सीना

पूर्व मिस नेपाल उषा खड्गीले विज्ञापन व्यवसायी जि पी तिमिल्सिनासँग विवाह गरिन् ।  जि पि विज्ञापन व्यवसाय गर्नुअघि टेलिभिजन प्रस्तोताको रुपमा काम गर्थे । श्रीमान विज्ञापन व्यवसायी भएकै कारण उषालाई  टेलिभिजन कमर्र्सियल विज्ञापनहरुको खाँचो कहिल्यै परेको छैन ।

मिस  नेपाल भएपछि केही म्युजिक भिडियोहरुमा काम गरेकी उषाले सिनेमामा भने काम गरिनन् । उनी आफूलाई टेलिभिजन कमर्सियल विज्ञापनहरुले नै सन्तुष्टि दिएको बताउँछिन् । विज्ञापनमा काम गर्ने क्रममा उषाले धेरै जसो श्रीमान् जि पिसँगै काम गरेकी छिन् । यी दुईले डिस होम, सीताराम दुध, उत्तम तेल, एन सी सी बैंकको महिला बचत खातालगायतका विज्ञापनमा काम गरेका छन् ।  उषा र जि पिका एक छोरा र एक छोरी छन् ।

 

LEAVE A REPLY