काठमाडौं, वैशाख ३ – संघीय गठबन्धन र मधेसी मोर्चाले वैशाख ५ गतेदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।  संविधान संशोधन गरी संघीय संरचना लगायतका मुद्दाहरु सम्बोधन गरेर संघीय संसद् र प्रादेशिक विधायिकाको चुनाव गराउनु पर्ने र त्यसपछि मात्र स्थानीय चुनाव गर्नु पर्ने गठबन्धनको माग छ ।

प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको चुनाव गर्नु पर्ने माग गठबन्धनले गरेको छ ।

मधेसी, आदिवासी जनजाति, थारुले गरेको आन्दोलनका बखत सरकारसँग भएका सहमति र सम्झौता, अन्तरिम संविधानमा भएको व्यवस्था, संविधानसभामा भएका सहमति, राज्यपुनर्संरचना आयोगले दिएका प्रतिवेदनको मर्म र भावना विपरीत फाष्ट ट्रयाकको नाममा तीन दलका केही नेताहरुले लोकतान्त्रिक प्रक्रिया र विधिलाई समेत उल्लंघन गरी नेपालको संविधान जबरजस्ती घोषणा गरेको आरोप उनीहरुले लगाएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले सरकार समक्ष राखेको ११ बुँदे र २६ बुँदे मागहरुलाईसमेत बेवास्ता गरी ल्याएको संविधान संशोधन विधेयकले आफ्ना राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएकाले आन्दोलनमा जान बाध्य भएको गठनबन्धनका प्रवक्ता ओम गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलन सम्बन्धी कार्यक्रमहरु :

१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी/सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश/थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने/गराउने ।

@Ujyaaloonline

LEAVE A REPLY