काठमाडौं, कात्तिक २२ l आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि सम्बन्धित निकायले सबै तयारी पूरा गरेका छन् । दुई चरणमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्सन्धान विभागले सबै तयारी पूरा गरिसकेको जनाएका हुन् ।

पहिलो चरणको मतदान चलिरहेका बेला दोस्रो चरणमा चनाव हुने ठाउँमा प्रचारप्रसारकै क्रम चलिरहेको हुन्छ । यस्तो अवस्थामा सबै सुरक्षाकर्मी पहिलो चरणको चुनावमा खटिंदा दोस्रो चरणमा चुनाव हुने ठाउँमा सुरक्षा चुनौती बढ्ने भएकाले पहिले नै सुरक्षाकर्मीहरु खटाइसक्ने सुरक्षा निकायले बताएका छन् ।

संवेदनशील ठाउँ तथा सुरक्षा चुनौती भएका व्यक्तिहरुको पहिचान गर्नका लागि सबै सुरक्षा निकायले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेका छन् ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सातै प्रदेशका प्रमुख एआइजीहरुलाई नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ ।

प्रहरीले चुनावी सुरक्षालाई मध्यनजर गर्दै तीन तहको सुरक्षा नीति बनाएर काम गरिरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार चुनाव पूर्व, चुनाव भइरहेको अवस्था र चुनावपछि विजयी भएको अवस्था गरी तीन तहमा सुरक्षा व्यवस्था मिलाइनेछ ।

चुनाव पूर्वको सुरक्षामा उम्मेदवारको सुरक्षा, सम्भावित झडप, हातहतियारको प्रयोग, चुनाव विरोधी गतिविधिहरु सुरक्षा चुनौती हुने सक्ने भन्दै प्रहरीले सुरक्षा प्रदान गर्न थालिसेकेको छ ।

त्यस्तै चुनाव भइरहेको अवस्थामा हुनसक्ने झडप, मतदाताको सुरक्षा र उम्मेदवारको सुरक्षा मुख्य चुनौती बन्ने भएकाले त्यसै अनुसार सुरक्षा तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

चुनाव सकिएपछि मतपेटिकाको सुरक्षा र विजयी जुलुसमा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा बनाएर काम गरिएको प्रहरीले जनाएको छ ।

कति सुरक्षाकर्मी परिचालन ?

नेपाली सेनाले ६४ हजार २० सुरक्षाकर्मी चुनावी सुरक्षामा खटिने बताइसकेको छ । चुनावमा खटिने सैनिकलाई अहिले सेनाले तालिम दिइरहेको छ । प्रहरीले भने आफ्नो नियमित काम र कार्यालय सुरक्षामा केही कर्मचारी राखेर बाँकी ९० प्रतिशत प्रहरी परिचालन गर्ने तयारी गरेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

‘ठ्याक्कै अहिले नै यति परिचालन गर्छौं भन्न सक्ने अवस्था छैन । ९० प्रतिशत भन्दा बढी प्रहरी परिचालन हुन सक्छन्’ न्यौपानेले भन्नुभयो । त्यसैगरी ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चुनावमा खटिने छन् ।

के छ सुरक्षा चुनौती ?

नेपाल प्रहरीले आउँदो चुनावमा खासै सुरक्षा चुनौती नभएको दावी गरेको छ । तर नेपाली सेनाले चार वटा चुनौती रहको औंल्याएको छ । सेनाले पछिल्लो समय देखा पर्न थालेका साना हतियार, वाम गठबन्ध र लोकतान्त्रिक गठबन्धनबिच हुनसक्ने सम्भावित झडप, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सिके राउत समूह अहिलेको चुनावको मुख्य सुरक्षा चुनौती रहेको औल्याएको छ ।

पछिल्लो समय भारतीय नागरिक हतियार सहित नेपाल प्रवेश गर्ने गरेको र काठमाडौंमै दिउँसै गोली प्रहारका घटनाले साना हतियार चुनौती देखिएको सेनाको विश्लेषण छ ।

त्यसैगरी पार्टी एकीकरणको घोषणमसहित बनेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धकाबिच हुलदुङ्गा तथा झडप हुनसक्ने स्थिति रहेको सेनाको बुझाई छ । विप्लव र सिके राउत समूहलगायत चुनावमा भाग नलिने समूहबाट सुरक्षा चुनौती हुनसक्ने आशंका छ ।

कारागार, भिआइपी र विमानस्थल लगायतका सुरक्षा सेनालाई

चुनावमा जतिसक्दो धेरै नेपाल प्रहरीको प्रयोग गर्नका लागि नेपाल प्रहरीले हेर्दै आएका केही जिम्मेवारी नेपाली सेनाले हेर्ने भएको छ । कारागार, भिआइपीको सुरक्षा, विमानस्थलको सुरक्षा लगायतको ठाउँमा नेपाली सेना खटिने सेनाका प्रवक्ता तथा सहायक रथी नैनराज दाहालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । कतिपय भन्सार तथा कारागारहरुमा सेना खटिसकेको दाहालले बताउनुभयो ।

सेनाले ओर्सान थाल्यो मतपत्र

मतपत्रको छपाईदेखि ढुवानीको जिम्मा नेपाली सेनाले पाएको छ । पहिलो चरणको मतपत्र छापिसकेपछि सेनाले ढुवानी पनि गर्न थालेको छ । ‘हामीले मतपत्र छपाईको सुरक्षा दिइरहेका छौं । पहिलो चरणको मतपत्रको छपाई सकिसकेकाले ढुवानी पनि सुरु भएको छ’ सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले भन्नुभयो ।

सुरक्षा चुनौती र बाटोको अवस्था हेरेर मतपत्र गाडी र हेलिकप्टर दुवैबाट ढुवानी गरिने सेनाले जनाएको छ । पहिलो चरणको मतपत्रको ढुवानी सुरु गरेको सेनाले दोस्रो चरणको मतपत्र छपाईको पनि सुरक्षा गरिरहेको छ । पहिलो चरणको चुनाव लगतै दोस्रो चरणको मतपत्रको छपाई पनि सकिने भएकाले त्यसपछि दोस्रो चरणको मतपत्र ढुवानी गरिने सेनाले जनाएको छ ।

सेनाको तयारी

यसअघिको चुनावमा जस्तै सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछ । त्यस्तै मतदान केन्द्रको जिम्मासहित तेस्रो घेरामा नेपाली सेना रहनेछ । यसका साथै सेनासँग स्ट्याण्ड बाई फोर्स पनि हुनेछ ।

यस्तो फोर्स जिल्ला, बाहिनी, पृतना र जंगी अड्डा गरी चार तहमा हुने सेनाले जनाएको छ । साथै सेनासँग बम डिस्पोजल टोली, मोबाइल गस्तीदेखि हवाई गस्तीसम्म हुनेछ । चुनावी सुरक्षामा कुनै कसर बाँकी नराख्ने सहायक सथी नैनराज दाहालले जानकारी दिनुभयो ।

  • unn.com.np

LEAVE A REPLY