काठमाडौं, कात्तिक ८ l मंसिर १० गते ३२ जिल्लाका ७४ तहमा हुने प्रदेशसभा चुनावका  लागि राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाइसकेका नेताले पनि उम्मेदवारी दिएका छन् ।

प्रदेश नम्बर १ मा पर्ने भोजपुर ‘ख’ बाट नेकपा एमालेका शेरधन राईले प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिनुभएको छ । प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका दावेदार मानिएका रार्ई प्रदेशसभाको उम्मेदवारमा सिफारिस भएकामध्ये सबैभन्दा उच्च तहका नेता हुनुहुन्छ । २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बन्नुभएको हो ।

२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर त्यतिबेलाका कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक हुनुहुन्छ । एमाले पोलिटब्युरो सदस्य राईले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

भोजपरको कुल नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले चार÷चार वटा स्थानीय तह तथा नेकपा माओवादी केन्द्रले एउटा तहमा विजयी हासिल गरेका छन् । स्थानीय तहको नतिजालाई हेर्दा वाम गठबन्धनले कांग्रेसको भन्दा धेरै मत ल्याएको छ ।

यही प्रदेशमा पर्ने सुनसरीमा एमालेका अर्का नेता तथा पूर्वमन्त्री भीम आचार्य पनि प्रदेश सभामा उठ्दै हुनुहुन्छ । आचार्यलाई पनि मुख्य मन्त्रीको आकांक्षीको रुपमा हेरिएको छ ।

प्रदेश नम्बर ३ धादिङ १ ‘क’ बाट नेकपा एमालेका नेता तथा पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । संविधानसभा चुनावको प्रत्यक्षतर्फ विजयी भएर राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव जमाएका पाण्डेलाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका मुख्य दावेदारको रुपमा हेरिएको छ । स्थानीय तहको चुनावलाई हेर्दा धादिङका १३ वटा स्थानीय तहमध्ये नेकपा एमाले ८, नेपाली कांग्रेस ३ माओवादी केन्द्र १ र राप्रपा १ स्थानीय तहमा विजयी भएका थिए । स्थानीय तहको आधारमा धादिङमा वाम गठबन्धन निकै बलियो स्थितिमा देखिन्छ ।

तीन नम्बरमा प्रदेश मुख्यमन्त्रीकी अर्का दावेदारका रुपमा नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि हेरिएको छ । दोस्रो चरणमा हुने चुनावमा उहाँ काठमाडौंबाट प्रदेश सभामा उठ्ने चर्चा छ ।

प्रदेश नम्बर ४ लमजुङ ‘ख’ बाट नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ्ग प्रदेशसभा सदस्यको लागि उम्मेदवार हुनुभएको छ । पूर्व मन्त्री समेत रहेका गुरुङ्गले उम्मेदवारी दिएसँगै आफू प्रदेश नम्बर ४ को मुख्य मन्त्री बन्ने घोषणा गर्नुभएको छ । लमजुङका ८ स्थानीय तहमध्ये ५ तहमा नेकपा एमाले, २ तहमा नेपाली कांग्रेस र १ तहमा माओवादी केन्द्र विजयी भएका थिए । यसरी हेर्दा लमजुङमा पनि वाम गठबन्धन बलियो अवस्थामा रहेको देखाउँछ ।

एमालेका प्रदेशसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङ्ग लमजुङबाट विजयी भएमा उहाँ प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीको लागि दावेदार हुनुहुनेछ । प्रदेश नम्बर ४ मा नेकपा एमालेका अरु नेतालाई पनि मुख्यमन्त्रीको दावेदारको रुपमा हेरिएको छ । तर पहिलो चरण चुनावमा प्रदेश ४ बाट एमालेले मुख्यमन्त्रीको रुपमा अगाडि सारेर उम्मेदवार बनाएका गुरुङ्ग नै हुनुहुन्छ ।

पहिलो चरण चुनावमा नेकपा एमालेले अगाडि सारेका तीनजना सम्भावित मुख्यमन्त्रीका प्रदेशसभाका उम्मेदवार पूर्व मन्त्री रहेका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले पहिलो चरण चुनावमा मुख्य मन्त्रीका संभावित उम्मेदवारलाई उठाएका छैनन् ।

यसरी हुनेछ प्रदेश सरकारको गठन

प्रदेश व्यवस्थापिका

यो एक सदनात्मक हुन्छ, जसलाई प्रदेशसभा भनिन्छ । सामान्य एक सदनात्मक भनेको व्यवस्थापिका रहन्छ, राष्ट्रिय सभा रहँदैन ।

सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा प्रदेशसभामा सदस्य रहनेछन ।

समानुपातिक प्रतिनिधित्व

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको चुनावका लागि राजनीतिक दलले उम्मेदवारी दिदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्नु पर्नेछ ।

प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । एकै व्यक्ति एक भन्दा बढी निर्वाचन क्षेत्रमा एकै पटक उम्मेदवार हुन पाउने छैन। यसको पदावधि पाँच वर्षको हुनेछ ।

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र उपसभामुखको चुनाव गर्नेछन ।

प्रदेश कार्यपालिका

यो प्रदेश मन्त्रीपरिषद हो ।
प्रत्येक प्रदेशमा राष्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्नेछ ।

प्रदेश प्रमुखको योग्यता

संघीय संसदको सदस्य हुन योग्य भएको
३५ वर्ष पूरा भएको
कुनै कानुनले अयोग्य नभएको

मुख्यमन्त्री नियुक्ती प्रकृया

प्रदेश मन्त्रीपरिषदको गठन गर्दा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद गठन हुनेछ, यदि प्रदेश सभामा बहुमत नभए दुई वा र्दुइ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । प्रदेश प्रमुखले मुख्य मन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरुमध्ये सात सदस्यीय प्रदेश मन्त्रीमण्डल गठन गर्नेछ ।

LEAVE A REPLY