१५ वर्षअघिको कुरा हो, मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने उद्देश्यले कास्कीको एउटा चौकीमा महिला स्वास्थ्य स्वयम्सेविकाको समूहसंग म डिप्रेसन रोगका बारेमा कुरा गर्दै थिएँ । डिप्रेसन हुँदा मन नरमाईलो हुने, थकाई धेरै लाग्ने, बोल्न, हाँस्न मन नलाग्ने र निद्रा र भोक नलाग्ने हुन्छ । बिरामीले उपचार पाएन भने रोग बढ्दै जान्छ र आत्महत्या गर्ने संभावना हुन्छ भनेर मात्र भनेको थिएँ समूहकी एक महिला बरबर आँशु झारेर रुँदै हुनुहुन्थ्यो । हामी सबैको ध्यान उहाँतर्फ गयो । उहाँले भन्नु भयो– ‘५ महिना पहिले मात्र यो कुरा थाहा पाएको भए उहाँलाई बचाउन सक्थेँ ।’

पाँच महिना पहिले उहाँको श्रीमानले झुण्डिएर आत्महत्या गर्नुभएछ र आत्महत्या गर्नू पुर्व नखाने, नसुत्ने, नबोल्ने, टोलाएर बस्ने, रुन खोज्ने र मनमा कुरा खेल्यो भन्ने मात्र गर्नु हुन्थ्यो रे ।

डिपे्रसन रोग आत्महत्याको प्रमुख कारण मानिन्छ । त्यस्तै मदिरापानको लत लागेर उत्पन्न हुने पारिवारिक, आर्थिक , सामाजिक तथा स्वास्थ्य समस्याका कारण पनि आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । अन्य रोगमा मानसिक असन्तुलन, लागुपदार्थ दुव्र्यसन, एचआईभी÷एड्स, छारे रोग, निको नहुने खालका धेरै पीडा दिने शारीरिक रोग पनि पर्दछन् ।

सबै आत्महत्या रोगका कारण हुने भने होइनन् । आवेशमा आएर, प्रेममा आफुले भनेजस्तो नभएर, आफ्नो उद्देश्यमा असफल भएर, यातना खप्न नसकेर, आफ्ना गल्ती ढाकछोप गर्न र ठुलो मानसिक तनाव वा वेदनाका कारण पनि आत्महत्या गर्ने  मानिस हुने गर्दछन् । तर पनि आत्महत्याको प्रमुख कारण डिप्रेसन लगायतका केही मानसिक रोग र एचआईभी÷एड्सलगायत केही शारीरिक रोग नै मानिन्छन् ।

आत्महत्यामा जीवन समाप्त पार्ने इच्छा आफूभित्रै बाट उत्पन्न हुन्छ र जानीजानी , आफ्नै इच्छाले आफ्नो जीवन समाप्त पार्छन् । भनिन्छ–आत्महत्या गर्ने मानिसले आफ्नो जीवन समाप्त पार्ने बाटो मात्र देखेको हुन्छ, अरू सम्भावनाबारे उसले विचारै गरेको हुँदैन ।

आत्महत्या गर्ने प्रमुख तरिकामा विष सेवन, झुण्डिएर, आत्मदाह गरेर, पानीमा डुबेर, आफैँलाई गोली हानेर, अग्लो घर, छतबाट हाम्फालेर आदि पर्दछन् ।

आत्महत्या उनको परिवारका लागि अचानक र कल्पनै नगरेको घटना हुन्छ र यसको असर परिवारले लामो समयसम्म या जिन्दगीभर नै भोग्नुपर्ने हुन्छ । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई , छारोछोरीलाई वा बाबुआमालाई समाजले राम्रो परिवार हो भन्दैन । उल्टै यसको परिवारका मान्छे विष खाएर मर्छन् वा झुण्डिएर मर्छन् भन्ने कुरा चल्छ र परिवारलाई एकप्रकारको कलंक नै लाग्दछ ।

घरको मुल तथा आयआर्जन गर्ने व्यक्तिले आत्महत्या गर्दा परिवारमा ठुलो आर्थिक समस्यासमेत पर्न सक्दछ । परिवारका सदस्य जस्तै बालबालिकामा शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । छोराछोरीको विवाहमा असर पर्न सक्दछ ।

अध्ययन तथा पेशा गर्न कठिनाई पर्न सक्छ । त्यसैले एउटा आत्महत्याले एक व्यक्तिको जीवन मात्र जाने होइन परिवारका पाँच–सात जनालाइ दीर्घकालीन नराम्रो असर पर्छ ।    आत्महत्याका कारण संसारमा बर्सेनि करिब आठलाख मानिस मर्छन् भन्ने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर, आत्महत्याबाट बर्सेनि मर्नेको संख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । गरिब देशमा जनसंख्याको चाप बढी छ, आत्महत्या गर्नेको संख्या पनि बढी छ ।

भनिन्छ, संसारमा युद्ध, दुर्घटना वा विभिन्न प्राकृतिक प्रकोप जस्तै भुइँचालो, बाढी, सुनामीलगायतका घटनाबाट ज्यान गुमाउनेभन्दा आत्महत्या गरेर मर्नेको संख्या ढी छ ।  यी तथ्यांक हेर्दा आत्महत्या एउटा जनस्वास्थ्य समस्या हो र यसलाई रोकथाम गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

आत्महत्या रोकथाम गर्ने उपाय

व्यक्ति स्तरमा

आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिको पहिचान गरी भेट्नुपर्छ । त्यस्ता व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुपर्छ । त्यसबाट खास समस्या के रहेछ भनेर जानकारी पाईन्छ र त्यो समस्याले उसको भावनामा कति गहिरो चोट पु¥याएको रहेछ भनेर अनुमान लगाउन सकिन्छ ।

– प्राय मानवीय स्वभाव अरुलाई सल्लाह दिने हुन्छ । भनिन्छ सबैजना सल्लाह दिन चाहन्छन्, तर लिन कोही पनि चाहदैँँनन । त्यसैले आत्महत्या गर्ने विचार गरिरहेका व्यक्तिलाई सल्लाह दिन नहतारिनुुस् । उसको कुरा राम्ररी सुनेर समस्याको समाधान गर्ने के–के तरिका छन्, के–के उपाय छन् त्यसबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

– जीवनमा आशा हुँदासम्म मानिसले आफ्नो जीवन अन्त्य गर्नेबारे सोचेको हुँदैंन । आत्महत्या गर्र्ने निर्णय गरेको व्यक्तिको आशा पूरै मरिसकेको हुन्छ । केही आशा जगाउन सके आत्महत्यालाई टार्न सकिन्छ ।

– शारीरिक वा मानसिक स्वास्थ्य समस्या रहेछ भने उपचार गराउन सम्वन्धित विशेषज्ञकहाँ लिएर जाने, आवश्यकताअनुसार अस्पतालमा भर्ना गर्ने वा उपचार गर्ने गर्न सकिन्छ ।

– आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई एक्लै नछाड्नुस । उसको परिवार, केटाकेटी, साथीभाई, आफन्त मिलेर कुराकानी तथा अन्य सामान्य क्रियाकलाप गरेर भुलाउने, व्यस्त राख्ने प्रयास गर्नुहोस् ।

– आत्महत्या गर्ने धेरै सम्भावना भएको व्यक्तिको मनमा बारम्बार आत्महत्या गर्ने विचार आउँदासम्म संकट रहिरहन्छ , जब यस्ता विचार घट्दै जान्छन् तब मात्र संकट पनि घट्दै जान्छ । चिकित्सक वा मनोवैज्ञानिक परामर्शदाताले परीक्षण गरेर खतरा बढी छ वा छैन सल्लाह दिन सक्छन् ।

 परिवारबाट सहयोग

पारिवारिक  कलह, श्रीमानश्रीमतीबीचको सम्वन्धमा समस्या तथा विश्वासको कमी र पारिवारिक सहयोग नहुँदा पनि आत्महत्या गर्ने सोचाईको बिजारोपण हुनसक्छ । परिवारमा सहयोगको भावना, माया, प्रेम, विश्वास र राम्रो सम्वन्ध आत्महत्या रोक्नका लागि सहयोगी हुन्छन् ।

आत्महत्या गर्ने विचार भएको व्यक्तिले सिधा वा घुमाउरो तरीकावाट आफ्नो विचार पोखेका हुन्छन् । जस्तैः अब धेरै दिन बाँचिन्न होला, संगै बस्ने दिन सकिँदैछन्, हाम्रो यो भेट अन्तिम पनि हुन सक्छ आदि । यस्ता कुरालाई सामान्य  रूपमा लिनुहुँदैन ।  मानसिक वा शारीरिक उपचार गराईराखेका बिरामीलाई बेलाबेलामा चिकित्सकलाई देखाउने, सरसल्लाह लिने, औषधि उपचार गराउने आदि जिम्मेवारी परिवारको हो ।

 समुदायको सहयोग

आर्थिक समस्या, जनचेतनाको कमी, अन्धविश्वासलगायतका कारण मानसिक रोगीले उपचार गराएका हुँदैनन् । परिवारले सहयोग गर्नुको साटो अवहेलना, असहयोग गरिराखेका हुन्छन् । आत्महत्या घटाउनका लागि समुदायका चेतनशील वर्ग ले ठुलो सहयोग गर्न सक्छन् ।

आत्महत्या कुनै पनि समस्याको समाधान होइन । समस्यासँग लड्न, डटेर सामना गर्ने वा आत्महत्याको बदला अर्को बाटो पहिल्याउन सक्यो भने अकालमा जीवन जाँदैन ।

LEAVE A REPLY