पोखरा १९ चैत्र । स्थानीय निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकाहरुको छनौट सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आवेदन दिएकाहरुको छनौट प्रक्रिया शनिवारदेखिनै अञ्चल प्रहरी कार्यालय गण्डकी परिसरमा सुरु भएको हो ।

कास्कीमा म्यादी प्रहरीका लागि १६६० ले आवेदन दिएका थिए । कास्कीको लागि झण्डै साढे ९ सय जना आवश्यक रहेकाले सोहि अनुसार छनौट गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिवारबाट सबै जिल्लामा आवेदन दिएकाको छनौट सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले स्थानीय निकाय निर्वाचन सुरक्षाका लागी चैत्र ११ देखी चैत्र १७ गते सम्म देशभरवाट ७५ हजार म्यादी प्रहरी भर्नाका लागी आवेदन दर्ता खुल्ला गरेको थियो ।

पश्चिम क्षेत्रमा म्यादी प्रहरी भर्नाका लागी कुल २८ हजार १ सय ६० जनाले आवेदन दिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । आवेदन दिएका मध्ये २४ हाजर ६ सय ५१ पुरुष र ३५ सय ९ महिला छन् ।

पश्चिम क्षेत्र अन्तर्गत सबै भन्दा बढी लुम्बिनी अञ्चल मातहतका जिल्लाहरुमा १६ हजार २ सय ४९ जनाले दरखास्त दिएका छन् । त्यस्तै गण्डकी अञ्चल मातहतका जिल्लाहरुमा ८ हजार ३ सय ४० र धौलागिरी अञ्चल मातहतका जिल्लाहरुमा ३५ सय ७१ जनाले दरखास्त दिएका छन् ।

पश्चिम क्षेत्रको स्थानीय तहको निर्वाचनको लागी १४ हजार ६ सय २९ जना म्यादी प्रहरी छनोट गरीने छ । साथै प्रत्येक जिल्लामा आवश्यकता बाहेक बैकल्पिक १५ प्रतिशत थप छनोट गरिनेछ ।  पश्चिम क्षेत्र अन्तर्गतका १६ वटै जिल्ला प्रहरी कार्यालयहरुमा शनिवारबाछै भर्ना छनोट प्रक्रिया सुरु भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

चैत्र २१ गते सम्म सञ्चालन हुने भर्ना छनोट प्रक्रियाको चैत्र २२ गते नतिजा प्रकाशन गरिने छ । उक्त नतिजामा छनोट भएकालाई चैत्र २५ गते देखी वैशाख ८ गते सम्म प्रशिक्षण दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुनेछ । म्यादी प्रहरीमा भर्ना भएकाहरुले प्रहरी जवान सरहको तलव र राशन भक्ताको सुविधा प्राप्त गर्नेछन् ।

स्रोत:पिसपोखरा

LEAVE A REPLY