काठमाडौं, जेठ ३० – अभिनेत्री श्वेता खड्काले व्यापार र सिनेमासँगै सामाजिक सेवामा पनि कदम बढाएकी छिन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती निर्माणकै लागि सिनेमा ‘कान्छी’ को छायाकंन पछि सारेकी छिन् । 

श्वेता खड्का अहिले धेरैको लागि रोल मोडल बनेकी छिन् । तर उनको जीवनको यहाँसम्मको यात्रा त्यति सहज थिएन । पनौतीमा जन्मेर अहिले श्वेता खड्काका नामले स्थापित हुँदासम्म जीवनमा घटेका विविध घटना र रहस्यहरु उनले बाँडेकी छिन् । उनको कुरा उनकै शब्दमा …

म काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ मा जन्मिएँ । त्यहि मेरो बाल्यकाल एकदमै रमाइलोसँग बित्यो । अहिले पनि मलाई मेरो बाल्यकाल फेरि फिर्ता आए हुन्थ्यो जस्तो लाग्छ । बाल्यकालमा मेरा धेरै साथीहरु थिए । कहिलेकाही म उनीहरुको लिडर जस्तै हुन्थेँ भने कहिले निकै लजाउथेँ । बाल्यकालमा मलाई धेरैजसो भाँडाकुटी खेल्न मन पर्थ्यो । म शनिबार आयो की साथीहरुको घरमा खेल्न गइहाल्थेँ । मेरो दिदी बहिनी अनि दाजु भाइ पनि छन् तैपनि बुबा आमाको प्यारो सन्तान भने मै थिएँ । अहिले पनि उहाँहरु यसको बारेमा कुराकानी गर्नुहुन्छ । मैलै काभ्रे मै बसेर पढेँ ।

सानैदेखि अटेरी अबुझ नभएर मेहेनती र ज्ञानी भएकोले पनि होला म सबैको प्रिय भएको । मलाई जतिले पनि भेट्नुहुन्थ्यो सबैलै एकदमै माया गर्नुहुन्थ्यो । मेरो पढाइ भने सामान्य थियो । शिक्षकहरुले सधैँ मलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो । अफिसमै बोलाएर मलाई सुझाव सल्लाह दिने गर्नुहुन्थ्यो । कहिले काँही मामाघर जाने भएकाले मेरो स्कुल पनि छुट्थ्यो । स्वभावले त म भाइ बहिनी भन्दा पनि सानो बन्न खोज्थेँ । जान मन लागेको ठाउँमा जान नपाए रोएर आमा बुवालाई मनाउने कोशिस गर्थेँ । म यस कुरामा भने अलि जिद्दी थिएँ ।

सानो छँदा विद्यालयबाट पनि मलाई शिक्षक शिक्षिकाले बोकेरै घर सम्म पुर्याईदिनुहुन्थ्यो । त्यो बेलाको कुरा सम्झिँदा आफू निकै भाग्यमानी छु जस्तो लाग्छ । पढाइमा समान्य भए पनि म फेल भने भइन । मेहनत गरेँ । बनेपामा  पनि मेरो घर बजार मै हो । यही कारण मलाई माया गर्ने धेरै हुनुहुन्थ्यो । म एकदमै संस्कारी थिएँ । आमासँग पूजा गर्न मन्दिर जान्थेँ । सकेसम्म आमालाई काममा सघाउने मेरो बानी थियो । साथीहरुसँग पनि म एकदमै रमाउने खालको थिएँ । मेरो अरु साथीहरु चाहि एकदमै हल्ला गर्ने गर्थे । तर म भने सधैँ चुप लागेर बस्थेँ । म स्वभाव अलि कातर थियो।

किशोरावस्था

म किशोरावस्थामा एकदमै पढ्नुपर्छ भन्ने खालको थिएँ । लजालु भएका कारण अरुको अगाडि गएर बोल्नु पर्यो भने मेरो कान रातो हुन्थ्यो । म एकदमै डराउँथे । बाटोमा हिंड्दा कसैले जिस्कायो भने साथीहरु बोल्ने गर्थे । तर, म बोल्न पनि सक्दिनथेँ । चुप लागेर आफ्नो बाटो हिड्थेँ । त्यस्तो स्वभाव थियो मेरो किशोरावस्थामा । बाल्यकाल देखि किशोरावस्थासम्म मैले आफ्नै तरिकाले धेरै रमाईलो गरेको छु । त्यो समय अहिले सम्झिँदा पनि धेरै खुशी लाग्छ । मलाई सबैले माया गर्ने भएकाले पनि होला म अलि जिद्दी स्वभावकी छु ।

हाम्रो घरतिर केटीहरुको प्राय छिटो विवाह हुन्थ्यो । प्रायको विवाह १२ पढ्दा पढ्दै हुन्थ्यो । ब्याचलर पढ्दा त सबै केटीहरु सकिन्थे । मेरो घरमा पनि सबै जना दिदी बहिनीहरुको आत्मनिर्भर नभई विवाह भयो । विवाह पछि मात्र उहाँले काम गर्न थाल्नुभयो । १५÷१६ वर्षको उमेरमा पुगेपछि मलाई आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने सोच आउन थाल्यो । त्यो उमेरमा छिटो विवाह गर्दिन, आत्मनिर्भर नबनी, केही नगरी विवाह गर्दिन, परिवारको बोझ बन्न चाहन्न, जस्ता कुराहरुले मेरो मनमा स्थान पाउन थालेका थिए । म परिवारमा बोझ नबनेर उहाँहरुलाई सधै सहयोग गर्न चाहन्थे । यस्तै सपना र चाहनाले होला मैले १७ वर्षको उमेरबाटै काम गर्न थालेँ । तर घरबाट भने, ‘अहिले नै काम गर्दा पढाई बिग्रिन्छ नगर’, भन्नुहुन्थ्यो । तर मैले जिद्दी गरेर काम गर्न थालेँ । मेरो बुवा आमालाई भने म सेकेण्ड लेफ्टिनेन या त असई भएको हेर्न मन थियो ।  मेरो बुबाको नाम कृष्ण बहादुर खड्का हो । उहाँ आर्मी अफिसर हुनुहुन्थ्यो । आमाको नाम गोमा खड्का हो । म घरको साहिली छोरी हो ।  

समयले मलाई यहिँ राख्यो

उमेर बढाएर आर्मीमा लैजाने कुरा घरमा नभएको पनि हैन । मैलै पनि सेकेण्ड लेफ्टिनेन हुनलाई पनि मेहनत त धेरै गरेको थिएँ । तर त्यहि समयमा मेरो जीवनमा टर्निङ पोईन्ट आयो । म सिनेमा तिर आएँ । मैले काम गर्न थालेँ आर्थिक रुपमा परिवारको लागि म बोझ भईन । चर्चित व्यक्तिहरुको बायोग्राफी पढ्थेँ । उनीहरुले त्यो सफलता कसरी पाए त्यसलाई नियाल्थेँ । व्यापारमा सफल व्यक्तिहरुको कथा पनि मैले पढ्थेँ । यी कुराले मलाई धेरै प्रेरणा दिएका छन् ।

मैले सानै उमेरमा व्यापार सुरु गरेको हो । सानै उमेरमा लगानी गरेर व्यापार सुरु गर्दा सबै जना डराउनु भएको थियो । तर मैले सबैलाई म गर्छु भनेर विश्वास दिलाएर काम गरेँ । मलाई मेरा सबै साथीहरुले अमेरिका जाऊ भन्थे । त्यो बेलामा म सबै साथीहरुलाई भन्थेँ, ‘म नेपालमा बसेर पैसा कमाउँछु अनि अमेरिका घुम्न जान्छु’ ।  त्यो कुरा अहिले पूरा पनि भयो । म अहिले सबै ठाउँ घुम्न जान सक्छु । समयले मलाई यहिँ राख्यो सबै साथीहरुलाई बाहिर लग्यो ।

जीवनको टर्निङ पोईन्ट सिनेमा

एस एल सी सकाउना साथ मलाई स्कुटर चलाउनु पर्यो । घरमा पनि मागेपछि ममी बुवाले दिईहाल्नुहुथ्यो । ममी बुवाले एक्दमै माया गर्नुहुन्थ्यो । अनि सानै उमेरमा अप्ठ्यारो बाटोमा स्कुटी चलाउनु परेका कारण मेरो ब्याक पेन शुरु भयो । पछि डाक्टरले शारीरिक व्यायाम र फिटनेसको सुझाव दिनु भयो । त्यसपछि मैले ‘नेशनल सेन्टर अफ डान्स’मा डान्स पनि हुन्छ फिजिकल एक्सरसाईज पनि हुन्छ भनेर जोईन गरेँ । त्यहि डान्स गर्ने क्रममा मलाई सिनेमाको अफर आएको थियो । मैलै १९ वर्षको उमेरमा सिनेमा ‘कहाँ भेटिएला’मा काम गरेको हो । यो मेरो जीवनको टर्निङ पोईन्ट  हो।

व्यापार मेरो रुची

धेरैले मलाई ईन्जिनियर पनि भन्नुहुन्छ । यो मिडियामा आएको गलत जानकारी हो । म ईन्जिनियर हैन । बानेश्वरको ईन्द्रेणी कम्प्लेक्समा मेरो ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन कम्पनी छ जसले घरको भित्री र बाहिरी भाग सजाउने काम गर्छ । अहिले भने हामीले ईन्द्रेणी कम्प्लेक्सको छैटौँ तलामा हाईड्रो पावरको अफिस राखेर त्यहाँ सामान नअटेका कारण बालुवाटारमा रसियन एम्बेसीको छेउमा सारेका छौँ । मेरो कम्पनीले भाटभटेनी, प्रभु बैंक, ग्रयान्ड बैंक, हामा टावर, होटेल ईन्दे्रणी, कलिवुड प्लानेट, राईजिङ्ग मल लगायतका बिल्डिङमा काम गरिसकेको छ । 

मलाई व्यवस्थापनमा एकदमै ठूलो रुची छ । मसँग हरेक चुनौती स्वीकार गर्न सक्ने क्षमता छ जस्तो लाग्छ । कुनै पनि काम गर्नलाई पढ्न पर्छ भन्ने छैन । त्यो सबै काम म्यानेजमेन्टले गर्छ । हामीले त आँट्नुपर्छ ।

कहाँ भेटिएला खेलिसकेपछि धेरै सिनेमाको अफर आयो मलाई । तर मैले दादा (श्री कृष्ण)सँग तीनवटा सिनेमामा काम गरेँ । अनि मैले दादा (श्री कृष्ण)कै अनुरोधमा ‘कोहिनूर’मा लगानी गरेँ । निर्माताको रुपमा सिने उद्योगमा प्रवेश गरेँ । मैले धेरै सिनेमामा काम गरिन । मेरो पूरा ध्यान व्यापारमै थियो । दर्शकले दिनु भएको मायाका कारण मैले वर्षमा एउटा जति सिनेमा खेलेको थिएँ । अब दर्शकले दिनु भएको मायाकै कारण म ‘कान्छी’ सिनेमा बनाउँदैछु । यो सिनेमा यहि वर्षमा रिलिज हुनेछ ।

जीवनमा कुनै पनि घटना निम्ता दिएर घट्दैन

सबैको जिन्दगीमा दुख, सुख, उकाली ओरालीहरु आउँछन् । त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्न सक्नुपर्छ । कुन बेलामा के हुन्छ भन्ने कुुरा कसैलाई थाहा हुँदैन । कुनै पनि घटनाले निम्ता दिएर आउँदैन । म यहाँ अहिले तपाईँसँग कुराकानी गरिराखेको छु एकछिनमा के हुन्छ केही थाहा छैन । बिगतको कति कुराले पनि मानिसहरुलाई अल्झाउने र दुख दिईरहने गर्छ । सुखले रमाईलो हुन्छ भने दुखको क्षणले झन् दुख थपिदिन्छ, तनाव बढाउँछ । तर, मेरो जीवनमा जुन घटना घट्यो त्यो मैले सपना या विपनामा पनि सोचेकी थिईन । त्यो के भयो भनेर म आफैँ पनि कल्पना गर्न सक्दिन । त्यो घटना मेरै जीवनमा किन भयो मलाई थाहा छैन । केटी मान्छेको विवाह पछिको जीवन पूरै फेरिन्छ । मेरो पनि विवाह भयो । विवाह भएपछि एकदमै धेरै मिल्ने जीवनसाथी, सँगै काम गरेको साथी, सहयात्री भएर काम गरेको साथी, व्यापार गरेको साथीसँग मेरो जीवनको अन्त्य यसरी हुन्छ भनेर मैले सोचेको पनि थिईन । यो दुःखान्त घटनाबाट बाहिर आएर हाँसी खुशी जीवन बिताईरहेको छु । एउटा किताब पढ्दा पनि हामी कुनै पल खुलेर हाँस्छौ भने कुनै पल दुख मानेर रुन्छौ । मेरो जिन्दगी पनि किताबको कथा झैँ भएको छ ।  

मैले शुरुमा धेरै रमाईलो गरेँ । बीचमा अचानक के के भयो भयो– म मरेँ । म अहिले पहिलाको स्वेता खड्का नभएर नयाँ स्वेता खड्का हो जस्तो लाग्छ मलाई । मैले पुरानो कुराहरु बिर्सिएको छैन । तर, अहिले मैले नयाँ जीवन पाएको छु । म एकपटक मरेर नयाँ जीवन जिउनको लागि अहिले दुःख गरिरहेको छु जस्तो लाग्छ । उक्त घटनापछि मलाई सम्हाल्न खुबै गाह्रो भयो । ६ महिना सम्म ढाडको बिरामी भएँ । त्यो ६ महिना म ड्रिप्रेशनमा पनि गएँ । धेरै डाक्टरहरु, परामर्शदाताहरु आएर मलाई सम्झाउनु भयो । म आफ्नै घरमा बाथटब नाँघेर जान नसकेर, सावर लिन नसकेर आमा अनि दिदी बहिनीहरुले मलाई नुहाईदिनु हुन्थ्यो ।

कोहीसँग बोल्न मन लाग्दैन्थ्यो । कफी र चिया खाँदा खाँदै गिलासहरु फुटाईदिन्थेँ । त्यो बेलामा मलाई केही थाहा नै हुँदैनथ्यो । तर अहिले त्यो पल सम्झिँदा लाग्छ, त्यो बेला म एकदमै पिडामा थिएँ । दुःखमा थिएँ । त्यसपछि म दोस्रो उपचारको लागि अस्ट्रेलिया गएँ । त्यहाँ पनि डाक्टरहरुले मलाई सम्झाउनु भयो । फेरि नेपाल आएर अमेरिका गएँ । मलाई अमेरिका परिवारले पठाएको थियो । म प्लेनमा उक्लिन त के एउटा सिँढी चढ्न र गाडीबाट ओलिर्न पनि सक्दिनथेँ ढाडले गर्दा । म ह्वीलचियरको साहाराले गएँ ।

त्यो पल अहिले पनि मलाई याद आउँछ, केहि खाएपछि औडाहा हुने, छटपटि हुने । रातभरि निन्द्रा नलाग्ने । त्यहाँ गएर उपचार गरेको दुई घण्टा पछि भने मलाई आराम हुन थाल्यो । उपचारले काम गर्न थाल्यो । ढाडको दुखाई कम हुँदै गयो । डाक्टरहरुले पनि दिमागी उपचार गर्नुभयो । अमेरिका गएपछि बल्ल मैले दोस्रो जीवन पाएँ । त्यहाँको दर्शकहरुले विभिन्न ठाउँमा कार्यक्रमहरु अर्गनाईज गरेर ‘कोहिनुर’ सिनेमा रिलिज गर्नुभयो । प्रत्यक्ष रुपमा मलाई माया गुर्नभयो । अमेरिका भरि कोहिनुर शो भयो । उहाँलाई माया दिनुभयो । श्रद्धा दिनुभयो । अनि मैले पनि त्यहाँ सबै देखेर जीवनलाई बिस्तारै बुझ्दै गएँ । त्यसपछि म बल्ल होसमा आउन थालेँ ।  दिन बित्दै जाँदा म निदाउन सक्ने भएँ । हाँस्न सक्ने भएँ । अरुसँग रमाउन सिकेँ । लुगा लगाउन सिकेँ । मेकअप गर्न सिकेँ । त्यो बेलामा मलाई आफ्नो अनुहार ऐनामा हेर्दा एक्दमै डर लाग्थ्यो । अहिले त्यो बेलाका केही तस्बिरहरु युट्युबमा हेर्दा म यस्तो भएको थिएँ ! जस्तो महसुस हुन्छ । मेरो अनुहार सुन्निएको अनि तौल बढेको । म त सेलिब्रेटी पो थिएँ त सबैको प्रिय । म यसरी परिवर्तन भईसकेँ ! जस्तो महसुस हुन्थ्यो । म त पूरै ड्यामेज भएँ भन्ने फिल हुन्थ्यो । अनुहार हेरेर मेकअप गर्दागर्दैै रुन्थेँ । कार्यक्रमको अफर आँउथ्यो । कपाल कोर्न खोज्थेँ तर सक्दिनथेँ । मेरा ती कुराहरु, ती पीडाहरु कसैले सिनेमामा पनि हेर्न सक्दैन र किताबमा पनि पढ्न सक्दैन ।

तर मलाई जहाँ सम्म लाग्छ त्यो क्षणमा आफ्नो छोरीलाई, आफ्नो साथीलाई, आफ्नो बहिनीलाई जो कोहीलाई पनि राखेर कल्पना गर्नुभयो भने म कुन पीडाबाट बाहिर आएँ भन्ने कुरा सबैले महसुस गर्न सक्नुहुन्छ । म व्यापारमा जस्तो सुकै परिस्थित आएपनि व्यवस्थापन गर्न सक्छु । हदै भए म डुबौँला । फेरि मरुभूमिबाटै संघर्ष शुरु गरौँला  । तर यो जीवनको व्यवस्थापन भने एकदमैै गाह्रो रहेछ । म मा त्यो हिम्मत कसरी आयो, मलाई केले प्रेरित गर्यो केही पनि थाहा छैन । म दिन  प्रतिदिन दिन ठिक हुँदै आएँ । म अहिले पनि रुन्छु । तर म अहिले अलिकता रुँदा धेरै हुनुहन्छ सपोर्ट गर्ने।

अस्ति भर्खरै स्वेता श्री फाउण्डेशनको कार्यक्रममा मलाई सपोर्ट गर्न देशका ठूला ठूला कलाकारहरु आउनु भयो । डाक्टर भोला रिजाल, बसुन्धारा भुषाल, जितु नेपाल, प्रमोद खरेल, निखिल उप्रेती लगायतका कलाकारको उपस्थिति थियो ।

दादालाई माया गर्ने धेरै हुनुहुन्थ्यो र सबैले मलाई पनि माया गर्नुहुन्छ । तपाईँहरु सबैले दिनु भएको मायाले नै मलाई काम गर्न हौसला दिएको छ । सबैभन्दा ठूलो कुरा हामी आफूले आफैलाई माया गर्यौँ भने बल्ल माया गरिदिने मान्छे पाउँछौँ । माया गर्ने मान्छे पायाैँ भने जिन्दगीको दुख बिस्तारै भुल्दै जान सकिन्छ ।  

माझी बस्तीमा किन पुगेँ थाहा छैन

सिन्धुपाल्चोक उहाँ जन्मेको जिल्ला हो । तर म माझी बस्तीमै पुग्नुको कारण चाहि देशले नै सिमांकृत गरेको बस्ती हो त्यो । त्यो ठाउँमा म एउटा लेख पढेर पुगेको थिएँ । किन–किन थाहा छैन । मेरै जन्मभूमि काभ्रेमा पनि भूकम्पले धेरै घरहरु नाश भएको थियो । त्यहाँ पनि म जान सक्थेँ तर, दादा प्रति केही भाव आयो । थाहा छैन क कुराले भावुक भएँ म । त्यो गाँउलाई भेट्दा छुट्टै आनन्द आयो । त्यहाँ गएपछि उहाँहरुले मलाई गरेको सम्मानको म व्याख्या नै गर्न सक्दिन । उहाँहरुले मलाई छोरी, बुहारी, भाउजू जस्ता उपनाम दिएर बोलाउनुभयो जसले मलाई आफ्नोपन महसुस गरायो । म त्यहाँ गईसकेपछि उहाँहरुले मलाई आफ्ना समस्याहरु सबै बताउनुभयो । अनि मलाई उहाँहरुले म बाट केही आशा राख्नुभएको छ भन्ने लाग्यो । त्यो देखेपछि मलाई किन–किन त्यही बाट बोल्न मन लाग्यो, ‘म तपार्इँहरुको मद्दत गर्न आजैबाट शुरु गर्छु । म तपाईँहरुको वस्ती बनाउन पहल गर्छु ।’ स्वेता श्री फाउन्डेशन जन्माएको माझी वस्तीले नै हो । माझी वस्ती निर्माणको विधी पूरा गर्न यो फाउन्डेशन खोलेको हो ।

घोषणा भएको यो तीन महिनाको समयमा हामीले आफ्नो युट्युब पेजमा डिजाईन हाली सकेका छौँ । हामीले त्यहाँका ५६ वटा घर भूकम्पले गर्दा प्रभावमा परेको पत्ता लगाएका छौँ । हामी ५६ वटा घर निर्माण गर्दैछौँ । मैले पहिले यो काम सकाएर अनि बल्ल सिनेमाको काम गर्ने निधो गरेकी छु । यसको लागि मलाई तपाईँहरु सबैको साथ र सहयोगको आवश्यकता छ । मलाई माया र सपोर्ट गरेर नयाँ जीवन दिनु भएको छ । अब कृपया माझीहरुको लागि पनि केही सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु । http://ssfoundation.org.np/ लग ईन गरेर यसबाटै सबै जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यसैबाट कहाँ र कसरी सहयोग गर्ने भन्नेबारे पनि थाहा पाउनु हुनेछ ।

@ujyaaloonline

LEAVE A REPLY