काठमाडौं २९ साउन । झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ ।

यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ । पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ । पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ ।

झरीका कारण पहाडी जिल्लाका ग्रामीण भेगका बाटो पनि अबरुद्ध भएको छ । पहिरो र बाढीले देशका धेरैजसो ठाउँको सडक अस्तव्यस्त भएको छ ।

LEAVE A REPLY