चितवन ९ असार । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् । सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए । सोही क्रममा माथिबाट झरेको पहिरोले प्रहरीको भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलबाट दुई जना प्रहरीको शव निकालिएको छ । भ्यानमा रहेका अन्य दुईजनाको खोजी भइरहेको छ । पहिरो पन्छाउने र प्रहरीलाई खोज्ने काम सँगसँगै अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

LEAVE A REPLY