पोखरा, साउन २४ l पेट्रोलियम पदार्थको व्यवसाय गर्दै आएका पेट्रोलियम व्यवसायीहरुले विभिन्न माग राख्दै पूरा नभए साउन ३१ गतेदेखि देशभरका पेट्रोलपम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि परिणाम लस र वर्किङ लसको कारण व्यवसायीहरुले घाटा व्यर्हाेनु परेको भन्दै माग पूरा नभए साउन ३१ गतेदेखि पम्प बन्द गर्ने जनाएको हो।

पेट्रोलियम पदार्थ आयातमा तापक्रमले वर्किङ लस हुँदै आएको छ । दैनिक आयात गरिने पेट्रोलियम पदार्थ वर्किङ लस र तापक्रम नमिल्दा ल्याइएको परिमाणमा कमि देखिने गरेको छ । परिमाणमा देखिएको कमिले पेट्रोलियम व्यवसायीहरुले घाटा हुने जनाउँदै त्यसको समायोजन गर्नुपर्ने माग उठाएका छन् । युरो ४ मापदण्डको पेट्रोलियम पदार्थ अझ बढी सिन्केज हुने भएकोले नेपाल आयल निगमले ‘सिन्केज तथा वर्किङ लस’ मा ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।

भारतबाट पोखरासम्म आयात गरिने प्रति चारहजार लिटर पेट्रोलमा ९० लिटरसम्म कम हुन्छ । डिजेलमा पनि प्रतिचारहजार लिटरमा मापन गर्दा ६५ लिटर कम हुने तथ्यांक गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनसँग छ । एशोसियसनले मापन गर्दा कमि हुने पेट्रोलियम पदार्थलाई समायोजन गर्नुपर्ने आवाज उठाएका छन् । तर निगमले पेट्रोलमा ३५ लिटर र डिजलमा २२ लिटर मात्रै समायोजन गर्दै आएको एशोसियसनले जनाएको छ ।

एशोसियसनका अनुसार पोखरासम्म आउँदा पेट्रोलमा ७०, डिजलमा ४४ लिटर, बाग्लुङसम्म पुग्दा पेट्रोलमा ९०, डिजलमा ५४ लिटर, स्याङ्जा पुग्दा पेट्रोलमा ८० र डिजल ५२ लिटर कम हुन्छ । ‘सिन्केज र वर्किस लसलाई आयल निगमले समायोजन गर्नुपर्ने अन्यथा आन्दोलनको विकल्प नरहेको’ गण्डकी धौलागिरी एशोसियसन आन्दोलन समितिका संयोजक जगत बरालले बताउनुभयो । ‘समायोजन नभए पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गर्छौं’ उहाँले भन्नुभयो ।

पछिल्लो ८ महिनादेखि नेपालमा युरो फोर मापदण्डको पेट्रोलीयम पदार्थ आएपछि लस हुन थालेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष सुशिल गौचनले बताउनुभयो । आफ्नो माग पूरा गर्न माग गर्दै एशोसियसनले २६ गतेदेखि पेट्रोल विलिङ अर्थात खरिद नगर्ने जनाएको छ । तीनदिनसम्म विलिङ नगरेपछि समाधान नभए व्यवसायीले साउन ३० गते मौज्दात बिक्री गर्ने र ३१ गतेदेखि पेट्रोलियम पदार्थको बिक्री पूर्ण रुपमा बन्द गर्ने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गौंगजुले जानकारी दिनुभयो ।

व्यवसायीले नेपाल आयल निगमले बिक्रेताहरुबाट लिएको धरौटी रकममा ‘क’ वर्गका बैंकहरुले मुद्धती खातामा दिने सरहको व्याज उपलब्ध गराउनुपर्ने माग समेत उठाएका छन् । आयल निगमले सबै डिपोहरुमा लोडिङ अनलोडिङ प्वाइन्ट र मौज्दात क्षमता बृद्धि गर्नुपर्ने माग समेत अघि सारेका छन् ।

गण्डकी धौलागिरीमा दैनिक झण्डै १ लाख लिटर पेट्रोल र २ लाख लिटर डिजेल खपत हुने गर्दछ । यो क्षेत्रका लागि पोखरा लेखनाथ महानगरपालिकाको गगनगौडा डिपोको क्षमता ३ लाख ६० हजार लिटर पेट्रोल र २२ लाख ४० हजार लिटर डिजेलको क्षमता रहेको छ । जुन पोखरालाई पेट्रोलले तीन दिन र डिजलले एकसाता मात्रै थेग्छ । गण्डकी धौलागिरीमा ५४ वटा पेट्रोल पम्प छन् भने कास्कीमा मात्रै ३६ वटा रहेका छन् ।

@Ujyaaloonline.com

LEAVE A REPLY