सिन्धुली,१७ बैशाख । माओवादीको प्रभाव रहेको जिल्ला मानिन्छ सिन्धुली । दोस्रो संविधानसभामा देशभरि हार व्यहोर्दा पनि सिन्धुलीमा माओवादीले राम्रो उपस्थिति जनाएको थियो । अब स्थानीय तहमा माओवादीको प्रभाव कति रहला ? सबैका लागि चासोको विषय बनेको छ ।

दोस्रो संविधानसभाको निर्वाचन परिणामअनुसार जिल्लामा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो शक्ति हो । अहिले माओवादी विभाजित भएर नयाँ शक्तिले पनि जिल्लामा अस्तित्व देखाएको छ ।

स्थानीय तहको संरचना

सिन्धुलीमा १ लाख ६८ हजार २ सय ४७ जना मतदाता छन् । जिल्लामा कुल ९ वटा स्थानीय तह छन् । त्यसमध्ये ७ वटा गाउँपालिका र दुई नगरपालिका पर्छन् । जिल्लाभरि ७९ वटा वडा रहेका छन् । चुनावमा ३ सय १६ जना वडा सदस्यहरु निर्वाचित हुनेछन् ।

जिल्लाका दुई नगरपालिकामा २ जना मेयर, २ जना उपमेयर निर्वाचित हुँदैछन् भने ७/७ जना गाउँपालिका प्रमुख र उपप्रमुख निर्वाचित हुँदैछन् । त्यसका लागि सिन्धुलीमा प्रमुख तीन दलले आ-आफ्नो जीत दाबी गरिरहेका छन् ।

सिन्धुलीमा बैशाख ३१ गते १३७ मतदान स्थलमा २३० वटा मतदान केन्द्रबाट मतदान हुने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ । अहिलेसम्म जिल्लामा निर्वाचनको पक्षमा वातावरण रहेको जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयमा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनको एउटा पनि उजुरी परेको छैन । बैशाख १ गतेदेखि नै मतदाता शिक्षा भइरहेको भए पनि मत बदर प्रतिशत बढ्न सक्ने आयोगको चिन्ता छ । जोशीले भने अरु वातावरण राम्रो भए पनि बदरमत बढ्ने चिन्ता छ ।

माओवादीः महिलालाई प्राथमिकता, पहिलो बन्ने रणनीति

माओवादीले सिन्धुली जिल्लाका स्थानीय तहमा महिला उम्मेदवारलाई प्राथमिकता दिएको छ । उसले कमलामाई नगरपालिकाको मेयर र उपमेयर दुवैमा महिलालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले कमालामाईको मेयरमा सावीत्रीदेवी पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी पार्टी नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेलकी श्रीमती हुन् । यस्तै सावित्री श्रेष्ठलाई उपमेयरको उम्मेदवार बनाएको छ । उपमेयरकी उम्मेदवार श्रेष्ठ राज्यबाट वेपत्ता पारिएका स्थानीय चित्रनारायण क्षेत्रकी धर्मपत्नी हुन् । नगरपालिकाको वडा नम्बर ११ को वडाअध्यक्षमा माओवादी केन्द्रले अम्बिका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

यसैगरी सुनकोशी गाउँपालिकाको प्रमुखमा पनि माओवादीले महिलालाई उम्मेदवार बनाएको छ । जिल्ला कमिटी अध्यक्ष दीपा बोहरा दाहाल उक्त गाउँपालिका प्रमुखको उम्मेदवार बनेकी छिन् ।

माओवादी केन्द्रले दुधौली नगरपालिकाको मेयरमा दिनेश अधिकारी दनुवारलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा इन्दिरा काफ्लेलाई अघि सारेको छ ।

मेयरका उम्मेदवार दिनेश भर्खरै निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । उनी जिल्ला विकास समितिको प्राविधीक सहायक पदमा कार्यरत थिए ।

माओवादीले फिकल गाउँपालिका बाहेक सबै स्थानीय तहमा आफ्नो पार्टीको विजय दावी गरेको छ । फिकलमा भने एमाले पहिलो शक्ति रहेको माओवादीले स्वीकारेको छ ।

अन्य स्थानीय तहमा चुनावी तालमेल आवश्यक नपर्ने जिल्ला पार्टी अध्यक्ष राजन दाहालको दाबी छ । उनले एमाले र कांग्रेस दुवैसँग तालमेलका लागि कुराकानी भने भइरहेको बताए । उनले नयाँ शक्ति पार्टीलाई भने आफुहरुले शक्तिकै रुपमा नस्वीकारेकाले तालमेलको कुराकानी नभएको बताए ।

कांग्रेस भन्छ- तालमेल भए माओवादीसँगै

सिन्धुली जिल्लामा कांग्रेसले अधिकाशं स्थानीय तहमा उम्मेदवार सार्वजनिक गरिसकेको छ । अहिले चुनावी प्रचारमा केन्दि्रत भएको कांग्रेसका जिल्ला नेता उज्ज्वल बरालले बताए ।

कांग्रेसले ७ वटै गाउँपालिकामा उम्मेदवार घोषणा गरेको छ । यस्तै जिल्लाभरि रहेका ७९ वटै वडा अध्यक्ष र सदस्यहरुको पनि उम्मेदवारी घोषणा गरिसकेको छ । दुई नगरपालिकाका मेयर र उपमेयरमा भने उम्मेदवार छनोटको तयारी भइरहेको बरालले बताए ।

जिल्लामा कांग्रेसले हरेक नगरपालिका र गाउँपालिकाको उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । कांग्रेसले दुधौली नगरपालिकामा भने महिला उम्मेदवार उठाउने सम्भावना रहेको बताएको छ ।

कांग्रेसले अहिलेसम्म जिल्लामा कुनै पार्टीसँग पनि चुनावी कार्यगत एकताको प्रयास नगरेको बताएको छ । पार्टी केन्द्रबाट तालमेलको निर्देशन नआएकाले एक्लै चुनाव लड्न लागेको कांग्रेसले बताएको छ । बरालले अनलाइनखबरसँग भने, ‘केन्द्रबाटै तालमेल गर्नु भनेर आयो भने गर्छौँ पनि नत्र गर्दैनौँ । तर, मिलेर जाऔँ भन्दा राम्रै हुन्छ ।’

उनले तालमेल हुँदा सत्ता साझेदारीका आधारमा माओवादी केन्द्रसँगै तालमेल हुने बताए ।

एमालेको दाबीः एक्लै लडेर जित्ने

सिन्धुलीमा एमालेले सबै गाउँपालिका र नगरपालिकाको उम्मेदवार घोषणा गरी चुनावी प्रचारमा जुटेको छ । एमालेले दुधौली नगरपालिकाको मेयरमा धनश्याम राउतलाई उम्मेदवार बनाएको छ । उनी जिल्ला कमिटी सदस्य हुन् । एमालेले उपमेयरमा बालकुमारी अधिकारी-दनुवारलाई अघि सारेको छ ।

यस्तै कमलामाई नगरपालिकामा एमालेले खड्ग खत्रीलाई मेयरको उम्मेदवार बनाएको छ । खत्री ०५४ सालको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । कमलामाईमा मञ्जु देवकोटालाई एमालेल उपमेयरको उम्मेदवार बनाएको छ ।

एमालेले ९ स्थानीय तहमध्ये फिकल गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । फिकलमा पार्वती सुनुवारलाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

एमालेले घ्याङलेक गाउँपालिका र मरिन गाउँपालिकामा नयाँ शक्तिलाई उपप्रमुख दिएर चुनावी तालमेलको गृहकार्य गरेको छ । त्यसबाहेक अन्य पार्टीसँग चुनावी तालमेल नभएको एमाले सिन्धुली जिल्ला कमिटीले जनाएको छ ।

जिल्लामा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलको छलफल भएको तर सहमति नभएको एमाले स्रोत बताउँछ । एमाले जिल्ला नेता प्रल्हाद पोखरेलले अनलाइनखबरसँग भने, माओवादी साथीहरुले ५ गाउँपालिका र एउटा नगरपालिका दाबी गर्नुभयो, त्यो दिन सकिएन । अब एक्लै लड्छौँ ।

पोखरेलले भने- ‘अब नयाँ शक्तिसँग तालमेल होला, तर कांग्रेससँग कुनै तालमेल नगर्ने पार्टीको नीति छ ।’

एमाले जिल्ला कमिटीको नीति नै कांग्रेससँग तालमेल नै नगर्ने भन्ने रहेको उनले बताएका हुन् । माओवादी केन्द्रसँग पनि तालमेलको सम्भावना करिब सकिएको पोखरेलले बताए ।

नयाँ शक्तिको अवस्था

सिन्धुलीमा नयाँ शक्ति बलियो देखिएको नयाँ शक्ति पार्टीले दाबी गरेको छ । जिल्ला पार्टीका नेताहरुले दुईवटा गाउँपालिका जित्ने दावी गरेका छन् । यस्तै केहीमा एमालेसँग तालमेल गरेर जाने बताएको छ ।

तर, माओवादी केन्द्रका नेताहरुले भने नयाँ शक्तिलाई शक्ति नै नमानेको बताए ।

यद्यपि माओवादीकै केही नेताहरु सिन्धुलीमा नयाँ शक्तिले माओवादी हराउन भूमिका खेल्न सक्ने बताउँछन् । ०७० को निर्वाचनमा माओवादी करिब ७ हजार भोटले जिल्लामा पहिलो पार्टी थियो । तर, यसपटक विभाजित छ ।

@onlinekhabar

LEAVE A REPLY