२० बैशाख, काठमाडौं । महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापनाको माग गर्दै सर्वदलीय टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार बिहान मन्त्री रमेश लेखकसहित आएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा ८.५ बिघा जग्गा रहेकाले सोही स्थानमा आयुर्वेद कलेज स्थापना गर्न सर्वदलीय टोलीले माग गरेको छ ।

संस्कृत विश्वविद्यालयले आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएको र यसमा जिल्लाका सबै दल र सामाजिक संघसंस्था समेत सहमत भएको टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । आगामी बजेटमा महेन्द्रनगरमा आयुर्वेद कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न सर्वदलीय टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले देशैभर आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी रहेको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न पहल गर्ने बताएका थिए ।

LEAVE A REPLY