कहिलेकाहीँ शारीरिक भन्दा पनि मानसिक थकानले शिथिल बनाउँछ। बेला-बेला मानसिक थकान दिलाउने घटना सामना गर्नुपरेकाले पनि हो कि। जानेदेखि कसैसँग गलत व्यवहार गरिएन, गलत गरेको सहिएन पनि। तर, सधैँ सहन्न भनेर मात्र नहुँदो रहेछ। परिस्थति, घटना, पात्र, समयअनुसार जस्तासुकै व्यवहारलाई पनि पचाउँदै र बेवास्ता गर्दै अघि बढ्नु नै नियति हो कि सायद।

कहिलेकाहीँ कामको शिलशिलामा यस्ता परिस्थितिसँग जुध्नुपर्छ कि चुप लागेर बस्दा पूरै धर्तीले आफ्नो टाउको थिचेजस्तो महसुस हुन्छ। तर,  पेशाले म डाक्टर, बिरामीको अगाडि मैले सधैं नम्र र भलाद्मी भएर बस्नुपर्छ। प्रायःजसो मलाई खुसी लाग्छ, बिरामीलाई हामीले दिने सेवा र उनीहरुले गर्ने आदर देखेर। तर कहिलेकाहीँ भने परिस्थिति बेग्लै भइदिन्छ।

एक दिन नाइट ड्युटीका बेला फोन आयो, ‘डाक्टर, केस आको छ इमर्जेन्सीम।’ बेलुकाको खाना खाने बेला भएको थियो। सोचेँ, बिरामी हेरेर खाउँला। पुगेँ इमर्जेन्सीमा। एउटा बच्चा अलिक गम्भीर लागेर उसलाई हेर्दै थिएँ। पछाडिबाट कसैले मेरो नाम लिएर ‘एक्सक्युज मी, फलानो सिस्टर कहाँ हुनुहुन्छ’ भन्दै थिए। मलाई खासै वास्ता पनि लागेन, यसअघि पनि धेरै पटक सिस्टर सम्बोधित डाक्टर हुँ म।

बिरामी हेर्दै गर्दा ती मान्छेको आवाज अलि चर्को आयो, ‘सिस्टर मेरो बच्चा हेर्दिनुहोस् न भनेको, मैले झन् फोन गरेर आएको, वास्तै पो छैन।’ यति कड्किएपछि म उनीतिर फर्किएँ, एउटी बालिका थिइन् ती मानिसका साथमा र हेर्दा ठिकठाकै देखिन्थिन्। आत्तिनुपर्ने इमर्जेन्सी केस थिएन उनको। तर बाबुको अनुहार चाहिँ अहंले पूरै रोगी देखिन्थ्यो। म अर्की सिकिस्त बच्चाबारे जानकारी लिइरहेकी थिएँ। ती मान्छे भने सबैले सुन्नेगरी एक्लै बोल्दै थिए, ‘यस्तो नि हुन्छ इमर्जेन्सी सेवा?’ यस्तैयस्तै।  अझ बम्केलान् भनेर मैले हेरिराखेको बिरामीलाई भर्ना गरेर उनको बच्चा हेर्न गएँ।

मनमा कुरा खेलिरहेको थियो, हरेक ठाउँमा ‘सोर्स’ लगाउन खोज्ने। अझ ताल परे सोर्सको हवाला दिँदै थर्काएरै काम गराउन खोज्ने कस्तो मानसिकता होला। फेरि एकैछिनको धैर्यता पनि नदेखाउने। मेरो पनि आक्रोशको पारो चढ्दै थियो। तर म, डाक्टर परेँ, चुपचाप उनको बच्चा भएतिर गएँ। उनले फेरि भने, ‘लौ न सिस्टर, हेरिहाल्नुपर्‍यो, म त आत्तिसकेँ।’

कुन डाक्टरको ड्युटी भन्नेसमेत पत्ता लगाएर आफ्नो बच्चालाई जँचाउन आएका थिए उनी। हाउभाउले नै पढेलेखेको र हुनेखाने घरकै जस्ता लाग्ने। मैले बिरामी जाँच्नुअघि भनेँ, ‘हजुरले नाम लिएको मान्छे चाहिँ मै हुनुपर्छ, तर म सिस्टर होइन, डाक्टर नै हो है।’ उनले बेपर्वाह भने, ‘हामी नेपालीको बानी केटीलाई सिस्टर नै भन्न आउने के।’ उनको जवाफ पटक्कै चित्त बुझेन।

छोरीको चलिरहेको परीक्षाप्रति निकै चिन्तित देखिएका उनले सम्झनुपर्ने थियो, छोरी मान्छेलाई योग्यताअनुसारको सम्मान दिन सक्नुपर्छ भन्ने कुरा। सायद उनको पनि सपना हुन सक्छ, छोरीलाई डाक्टर बनाउने। मैले उनलाई प्रश्न गरेँ, ‘तपाईंले थाहा हुँदाहुँदै त मलाई सिस्टर भन्नुभयो, अझ नबुझेका र अस्पातल पहिलो पटक टेकेका बिरामीले त हामीलाई कहिले डाक्टर भनेर चिन्ने होलान् है?’ त्यसपछि उनी मौन बसे, मसँग कुरा अघि बढाउने मुडमा देखिएनन् उनी। फिस्स हाँसे मात्र। मनमनै सोचेँ, सायद गल्ती महसुस गरे। म बिरामी बच्चीतिर लागेँ, ‘नानु के भयो तिमीलाई, कता दुख्छ?’ यो पटक उनले छोरीलाई भने, छोरी राम्रोसँग भन है सिस्टरलाई के-के भएको छ तिमीलाई। सिस्टरले निको पारिदिनुहुन्छ।’

अब भने ती अभलाद्मीको व्यवहार देखेर दिक्क लाग्यो। एउटी महिलालाई उसको योग्यताअनुसारको सम्बोधन र सम्मान दिन पनि किन कञ्जुस्याइँ गर्छन् होला यी महान् पुरुष?

हाम्रो स्वास्थ्य क्षेत्रमा, ‘सिस्टर’ आँफैमा सम्मानजनक शब्द हो। मलाई सिस्टर भनिएको प्रति होइन कि एउटा बुझ्रुक भनाउँदोको व्यवहारले चित्त दुखेको थियो। कहिले हाम्रो मानसिकतमा परिवर्तन आउने होला। सोच्थेँ शिक्षाले मान्छेलाई ज्ञान मात्र होइन असल व्यवहार पनि सिकाउँछ। यहाँ त त्यही शिक्षाले जन्माएको अहंले मलाई आहत बनाएको थियो।

मैले यो उदाहरण पस्किरहँदा तपाईंलाई ‘कस्ती घमण्डी डाक्टर रहिछ’ भन्ने लागिरहेको पो छ कि? तर, कसैले जानीजानी आफूलाई महिला भएकै कारण आफ्नो पदको मान नराखेको देख्दा सबैलाई दुःख लाग्दो होला।

केही दिनअघि, ओपिडीको कुरा हो। एउटा शल्यक्रिया भइरहेको हुँदा मेरा सहकर्मी साथी, सिनियर डाक्टरहरु सबै व्यस्त थिए। इमरजेन्सीबाट बिरामी हेरेर ओपिडी छिर्दा हूल जम्मा भएको रहेछ। बिरामी पठाउन सिस्टरलाई आग्रह गर्दा, बिरामीहरु कुरा गर्दै थिए, ‘त्यहाँ त डाक्टर नै छैन, सिस्टर मात्र  छ, अहिले नजचाउने।’ मलाई केही भन्न मन लागेन। जसले मलाई पहिले चिनेका थिए, उनीहरु आए। जाँचिदिएँ। पछि पुरुष डाक्टर आएपछि बाँकीले जचाएँ। जति मन कुँडिए पनि, एक हिसाबले बानी नै परिसकेको छ अचेल। सम्झाउन पनि कसकसलाई पो सम्झउनु।

जो बाहिरी संसारसँग त्यति घुलमिल भएका हुँदैनन्, जसले अस्पतालको परिसर पहिलो पटक टेकेका हुन्छन् उनीहरुसँग कुनै गुनासो पनि छैन। जे सम्बोधन गर्छन् त्यसैमा चित्त्त बुझएर जाचिँदिन्छु। जसलाई केही थाहा हुन्न उनीहरुसँग डाक्टर हुँ भन्ने दम्भ देखाएर गुनासो गर्नुको अर्थ केही छैन। तर, मलाई जसजसले ‘हर्ट’ गरेका छन्, आत्मासम्मानमा चोट पुर्‍याएका छन् ती अधिकांश पढेलेखेका छन्।

बिरामी हेरेर सल्लाह दिन खोज्दा ‘खै! सिस्टर्नी, डाक्टरसाब आउनु हुन्नु’ भनेर सोधिदिन्छन्। ‘मै हो त डाक्टर’ भनेर चिनाउँदा पनि उनीहरु पत्याउन तयार हुँदैनन् र जवाफ आउँछ, ‘आबुई नानी तपाईंलाई डाक्टर कसरी भन्नु, अप्ठेरो पो लाग्छ।’ यस्ता संवादले त्यत्रो दुःख गरेर पढेको, आफू डाक्टर बनेको तर पनि पुरुषको छायाले छोपिएको महसुस हुँदा साह्रै नमिठो लाग्दो रहेछ।

एक दिन ओपिडीमा एकजना भलाद्मी आए। सिधै ‘सिस्टर यस्तो भा’छ, सिस्टर उस्तो भा’छ। बरु डाक्टरलाई नै देखाउन पाए हुन्थ्यो,’ भनिदिए। झनक्कै रिस उठ्यो। ‘म पनि डाक्टर हुँ’ भन्नासाथ उनको रेडिमेड जवाफ आयो, ‘मैले तपाईंलाई दिदीबहिनीजस्तो मानेर पो सिस्टर भनेको, कहाँ सिस्टर्नी नै भन्न खोजेको हो र।’ उनको हाउभाउ र प्रस्तुतिबाटै मैले महसुस गरिसकेकी थिएँ, यो उनले अञ्जानवश भनिरहेका छैनन्। मलाई किन-किन हेपिएको अनुभूति भयो। अस्पताल होस् या अन्य कुनै ठाउँ, जहाँ कामको सम्बन्ध हुन्छ त्यहाँ दिदीबहिनीको नाता किन लगाउनुपर्छ र?

अर्को घटना सम्झिन्छु। एकजना महिला कन्सल्टेन्ट एउटा शल्यक्रिया (ओटी) सकेर बिरामीका कुरुवालाई भेट्न गेटमा आउनुभयो। पछाडिपछाडि एकजना ‘इन्टर्न’ भाइ पनि ओटीबाट निस्केर फर्कँदै थिए। कन्सल्टेन्टले ‘तपाईंको बिरमीको शल्यक्रिया सफल भयो’ भनेर बिरामीको शरीरबाट निकालेको पाठेघर देखाउनै लाग्द, कुरुवाको ध्यान अन्तै मोडियो। कुरुवाले इन्टर्नलाई सोधे, ‘डाक्टरसाब नमस्ते! कस्तो भयो अपरेसन?’ यहाँ कोही पनि सिस्टर थिएनन्। कन्सल्टेन्टले जहिले पनि अपरसेनपूर्व बिरामी र कुरुवालाई भेटेर, आफू चिनिने अनि समस्या र अपरसेन विधिबारे बुझाउने गरेकै हो। उहाँलाई सिस्टर भनिएको थिएन तर डाक्टर भनेर स्वीकार्न तयार थिएनन् बिरामीका आफन्त। यो घटनाले हाम्रो समाजको मानसिकता झल्काउँथ्यो।

यस्ता कैयौँ घटना छन्। उदाहरणका चाङ छन्। नेपाल मेडिकल काउन्सिलमा ८ हजारभन्दा बढी महिला डाक्टरको दर्ता छ। यति ठूलो संख्यामा महिला डाक्टर उत्पादन भइसक्दा र काम गरिरहँदा पनि नर्स र महिला डाक्टरलाई फरक देख्दैन समाजको आँखाले। स्वभावैले मानिसले आफ्नो योग्यता र कर्मअनुसारको इज्जत र प्रतिष्ठा खोज्छ। तर, यी घटनाहरु सम्झँदा लाग्छ अझै कति समय लाग्ने हो कुन्नि महिला डाक्टरले समाजबाट डाक्टरको पदवी पाउन।

मलाई सिस्टर भने भनेर मन दुखेको होइन, मलाई त डाक्टर भनेर चिनेनन् भन्ने कुराले खिन्न बनाएको हो। फेरि सजिलो कहाँ छ र बुझाउँदै हिँड्न पनि, ‘म सिस्टर होइन’ भनौँ भने घमण्ड देखाए जस्तो, चुप लागेर बसौँ भने आत्मसम्मानमा चोट पुगेजस्तो।

स्वास्थ्य क्षेत्रमा नभएका मेरा समकालीन साथीहरु कहिलेकाहीँ सुनाउँछन्, ‘त्यो फलानी डाक्टर त सिस्टर भन्यो भनेर कस्तो रिसाएको। तिमी चाहिँ कहिले त्यस्तो नगर्नु है। सिस्टर भन्दा के फरक पर्छ र होइन त?’ उनीहरु सही पनि छन् र गलत पनि। कसैसँग रिसाएर बोल्नु, झर्कनु गलत नै हो, त्यहाँनेर उनीहरु सही छन्। तर, कसैले महिला भएकै कारण आफ्नो योग्यता अनुसारको परिचय पाउँदैन भने उसलाई ठेस त लाग्छ, कसैकसैले आक्रोश पोख्लान् पनि। यो कुरा भने बुझ्न चाहँदैनन्। यहाँनेर गलत छन् मेरा साथीहरु।

Via: swasthyakhabar

LEAVE A REPLY