कञ्चनपुर, भदौ १५ l महाकाली पुलमा बन्ने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शिलान्यास गर्नुभएको छ । नेपाल सरकारको आयोजना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको चार लेनको पक्की पुलको प्रधानमन्त्री देउवाले बिहीबार शिलान्यास गर्नुभएको हो । पक्की पुलको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताको चाहना अनुसार महाकाली पुलमा चार लेनको पक्की पुल बनाउन लागिएको बताउनुभयो । उहाँले पक्की पुलको निर्माणसँगै महाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा बनाउन भारतसँग प्रस्ताव गरेको बताउनुभयो । ‘भारत भ्रमणका बेला महाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा बनाउने विषयमा प्रस्ताव गरेको छु’ प्रधानमन्त्री देउवाले भन्नुभयो ‘यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहमत हुनुभएको छ ।’

महाकाली नदीमा चार लेनको पक्की पुल बनेसँगै सुख्खा बन्दरगाहा बनेपछि सुदूरपश्चिमको मात्र नभई त्यसले समग्र देशको विकास हुने देउवाले दाबी गर्नुभयो । ‘सुख्खा बन्दरगाहा बनेपछि बम्बइबाट सिधै सामानहरु नेपाल भित्रिने छन्’ प्रधानमन्त्री देउवाले भन्नुभयो ‘छिटो बाटो पर्ने भएकाले पनि भारतले समेत यो नाकाको प्रयोग गरे आफ्ना पूर्वी क्षेत्रमा सामान ढुवानी गर्नेछ ।’

यस्तै कार्यक्रममा बोल्दै भौतिक यातायात तथा पूर्वाधार मन्त्री वीर बहादुर बलायरले महाकालीमा चार लेनको पुल बनेपछि महाकाली नदी पारीका नागरिकलाई सडक सञ्जाल नहुदा भोग्नु परेको सास्तीको अन्य हुने दाबी गर्नुभयो । उहाँले त्यस क्षेत्रका नागरिकले यसअघि आफूलाई नेपाली नै होइनौं कि भन्ने महसुस गर्ने गरेकाले पुल बनेसँगै त्यसले राज्यका हरेक सेवा सुविधासँग जोड्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री रमेश लेखकले सरकारले पुलको निमार्णसँगै सडकको बिस्तारका लागि जग्गा अधिकरण समेत गर्ने बताउनुएको छ । उहाँले जग्गा अधिकरण गर्दा जग्गा धनी पूर्जा भएका र नभएका सबैलाई सरकारले उचित क्षतिपूर्ति तथा मुआब्जा दिने बताउनुभयो ।

दोधराचाँदनी झोलुंगे पुलबाट २ दशमलव ५ किलोमिटर उत्तर तथा महाकाली नदीको शारदा व्यारेजबाट ५ दशमलव किलोमिटर दक्षिणतर्फ निर्माण हुन लागेको चार लेनको पक्की पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३ दशमलव ८ मिटर छ ।

पुल निर्माणसँगै ७ दशमलव ८ किलोमिटर चार लेनको सडकको बिस्तार गरिने छ । जुन दोधरातर्फ १ दशमलव ६ किलोमिटर र महेन्द्रनगरतर्फ गड्डाचौकीबाट पुलसम्म ६ दशमलव २ किलोमिटर हुनेछ । यस्तै, भारततर्फ भने पुलको पश्चिम छेउबाट २ दशमलव ६ किलोमिटरमा नेपाल भारतको सिमाना जोबुडा खोला पर्दछ । जोगबुडा खोलाको बायाँ किनार तर्फ ५ किलोमिटर सडक निर्माण गरे बनबासा खटिमा सडकको जोगबुडा खोलाको पुलमा जोड्नेछ ।

३ अर्ब २६ करोड ९३ लाख ३४ हजार ४ सय ९१ रुपैयाँको लगानीमा बनाउन लागिएका चार लेनको पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न हुनेछ । पुलको ठेक्का कुमार सिएफइसी जेभी, महेन्द्रनगरले लिएको छ । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ९९ करोड ६५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

कार्यक्रममा भौतिक यातायात तथा पूर्वाधार राज्यमन्त्री सीता पुन, वाणिज्य राज्यमन्त्री रणबहादुर चन्द, सडक विभागका सचिव, पूर्वमन्त्रीहरु लगायतको सहभागीता रहेको थियो ।

@unn.com.np

LEAVE A REPLY