वैशाख २१, २०७४- प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भएको भेटलगत्तै कान्तिपुरसँगको कुराकानीमा ओलीले न्यायपालिकालाई राजनीतिक हस्तक्षेप गर्ने निर्णय स्वीकार्य नहुँने बताए ।

‘प्रधानमन्त्रीलाई ३ बजेसम्म महाअभियोग फिर्ता लिन अल्टिमेटम दिएको छु’, ओलीले भने,‘दाहालले ३ बजे अगावै यसको जवाफ दिने बताउनुभएको छ ।’

ओलीले अमूक शक्तिकेन्द्रहरुसंगको परामर्शमा महाअभियोग ल्याइएको भन्दै फिर्ता लिनुको विकल्प नभएको बताए ।

ओलीले न्यायिक स्वतन्त्रतामाथि त्यति ठूलो आँच पुग्दा नेपाल बार एसोसियसनलगायत कानुनी क्षेत्रमा देखिएको मौनताप्रति आश्चर्य व्यक्त गरे ।

२०५२ सालमा अदालतको फैसलाले आफ्नो पार्टीलाई सरकारबाट हटाइदासमेत प्रधानन्यायाधीशलाई महाअभियोग नलगाइएको स्मरण गर्दै उनले फैसला चित्त बुझेन भन्दैमा स्वतन्त्र न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले महाअभियोग फिर्ता लिनुको विकल्पमा छोटो प्रक्रियाबाट टुंग्याउने प्रस्ताव गरेको उल्लेख गर्दै ओलीले भने,‘छोटो भनेको कति ? कति दिनमा ? कसरी ? यो आलीझेली कुरा हामीलाई मान्य छैन ।’

LEAVE A REPLY