गोरखा, चैत १८ – गोरखाको उत्तरी सातभन्दा बढी गाविस आउजाउ गर्ने प्रमुख बाटो अर्थात मनासलु पदमार्गको लापूबेँसीसम्मको खण्ड बन्द हुने भएको छ ।

सडक निर्माणका क्रममा नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गर्ने भएपछि बाटोमा आउजाउ बन्द गर्न लागिएको हो । मनासलु पदमार्ग अन्तर्गत हावाडाँडाबाट लापूबेँसीसम्मको बाटो बन्द गरेर काम सुरु गर्न लागिएको सडक निर्माणमा खटिएका नेपाली सेनाका इन्जिनियर मेजर निशान्त क्षेत्रीले बताउनुभयो ।

बेनीघाट–आरुघाट–आर्खेत सडकखण्ड अन्तर्गत हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको सडकको ट्रयाक खन्ने कामको जिम्मा नेपाली सेनालाई दिइएको छ । झण्डै १ सय २० किलोमिटर लामो सडक निर्माणको सुरुमै कडा चट्टानसहितको ठूलो भीर रहेकाले विस्फोटक पदार्थको प्रयोगविना ट्रयाक बनाउन नसकिने क्षेत्रीको भनाई छ । स्थानीय बासिन्दाको सहज आवतजावतका लागि दुईवटा बैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनमार्फत आग्रह गरिएको उहाँको भनाई छ ।

अर्मलाबाट भीरकुना निस्केर माछिखोला झर्ने बाटो र अर्मलाको झोलुङ्गे पुल तरेर मान्बु हुँदै लापूबेँसी निस्कने दुईवटा बाटोलाई विकल्पका रुपमा प्रयोग गर्न आग्रह गरिएको उहाँको भनाई छ । भीरकुनातर्फको बाटो अलि असजिलो भएकाले सेना समेतको सहयोगमा मर्मत गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

धादिङको बेनीघाटबाट गोरखाको आरुघाट र विभिन्न उत्तरी गाविसहरु हुँदै चीनको सीमाक्षेत्रसम्म पुग्ने १ सय ८० किलोमिटर मोटरबाटोको आधा भन्दा बढी खण्डको काम नेपाली सेनाले थालेको हो । यस क्रममा मनासलु पदमार्गको तातोपानीसम्म सर्भे भैसकेको मेजर क्षेत्रीले बताउनुभयो । सडक निर्माणका लागि नेपाल सरकारले यो वर्ष ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । लगातार काम गर्ने वातावरण बने तीन वर्षभित्रमा चीनको सीमा क्षेत्रसम्म सडकको ट्रयाक पुर्‍याउन सकिने नेपाली सेनाले जनाएको छ ।

@Ujyaloonline

LEAVE A REPLY