महोत्तरी, १८ साउन । राप्रपाका अध्यक्ष कमल थापाले मधेसमा बस्ने जनताको हक, अधिकार, पहिचानको रक्षासँगै समग्र तराई मधेसको आर्थिक विकास र समुन्नतिको निमित्त राप्रपा मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताउनुभएको छ । २ नं. प्रदेको स्थानीय निकाय निर्वाचनलाई लक्षीत गरि बर्दिवासमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मधेसका मुद्धा सम्बोधन गरि चुनावमा सबैले भाग लिने वातावरण तयार गर्न सरकार गम्भीर नभएको साथै राजपालाई बाहिर राख्ने चलाखी र योजनाबद्ध षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष एवं २ नं. प्रदेश स्थानीय निर्वाचन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले राप्रपाको नेतृत्व जुझारु र गतिशिल रहेको बताउँदै कमल थापाको क्षमतालाई आफूले नजिकबाट बुझेको, जानेकोले उहाँको नेतृत्वबाटै गन्तव्यमा पुग्न सकिने स्पष्ट पार्नुभयो । कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष रामचन्द्र रायले मधेसप्रति राप्रपा पूर्ण उत्तरदायी भएकोले यो सन्देश गाउँगाउँमा पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । राप्रपा महोत्तरीका जिल्ला अध्यक्ष राजेश्वर रायको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य भरत गिरी, चन्देश्वर प्रसाद यादव, कृष्ण देवकोटा लगायतले बोल्नुभएको थियो ।

यसअघि २ नं. प्रदेश स्तरीय स्थानीय चुनाब तयारीसम्बन्धी पुर्ण बैठक अध्यक्ष कमल थापाको समुपस्थिती तथा उपाध्यक्ष एवं २ नं. प्रदेश स्तरीय निर्वाचन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बर्दिवासमै सम्पन्न भएको थियो ।

LEAVE A REPLY